नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंले आफ्ना माग पूरा नभए जनविद्रोह हुने चेतावनी दिएका छन्।
सोमबार साँझ सिंहदरबारमा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटपछि उनले आफूहरूले राखेका माग पूरा नभए जनविद्रोह हुने र त्यो कसैले नसोचेको हुने चेतावनी दिएका हुन्।
उनले प्रधानमन्त्रीसँग आफ्ना मागहरू स्पष्ट रुपमा राखेको बताउँदै आफ्ना माग नागरिकको जनजीविकासँग सम्बन्धित रहेको दाबी गरे। प्रधानमन्त्री कार्कीले आफूहरूका मागबारे अध्ययन गरेर पुस २ गते निर्णय दिने बताएको पनि प्रसाईंले जानकारी दिए।
‘आज हाम्रा माग प्रधानमन्त्री र गृहमन्त्रीले राम्रोसँग सुन्नुभयो। तपाईंका माग भनेका जनजीविकोपार्जन माग हुन्। यी मागहरू कम्युनिष्टले बोकेर हिँड्ने माग हुन्। तर कम्युनिष्टहरुले यही भर्याङ बनाएर अर्बौं रुपैयाँ कमाए’ उनले भने, ‘सबै कुरा अध्ययन गरेर, म छलफल गर्दछु र पुसको २ गते निर्णय दिन्छु। तपाईंहरुले भनेको जस्तै निर्णय दिन्छु भन्नुभएको छ।’
२०६२-०६३ को जनआन्दोलनको म्याण्डेट भनेको संघीयता, धर्मनिरपेक्षता ल्याउने नरहेको भन्दै यसबारे जनमतसंग्रह गर्नुपर्ने माग राखेको प्रसाईंले स्पष्ट पारे। सरकारले तोकेको फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचन समयमा नहुने प्रसाईंको भनाई थियो।
उनले भने, ‘२०६२-०६३ को जनआन्दोलनको म्याण्डेट भनेको संघीयता, धर्मनिरपेक्षता ल्याउने थिएन। राजसंस्था फ्याँक्ने थिएन। कसरी भय? इँजार जहाँ गाँठो परेको हो त्यहीँ फुकाउनुपर्छ। चंगाको धागो चहाँ चुँडिएको हो त्यहीँ गाँस्नुपर्छ। चुनाव हुँदैन, आशै नगर्नु। उहाँलाई व्यवस्था ठिक छैन भनेँ। तपाईंले पनि नाती खेलाउने व्यवस्था ल्याउन जनमत संग्रहमा जाऔँ, यो व्यवस्था ठिक छ की छैन भनेर भनेको छु। सबै विषयमा जनमत संग्रहमा जाऔँ भनेको छु। उहाँले सही डिसिजन दिनुभएन भने चुनाव हुँदैन।’
संरक्षक प्रसाईंले किरात, बौद्धसहितको हिन्दु अधिराज्य र राजसंस्थाका सन्दर्भमा र अहिलेको व्यवस्थाका सम्बन्धमा जनमत संग्रह गर्न माग गरे।
Shares

प्रतिक्रिया