राजनीति


मरौँला वा बाँचौला फरक पर्दैन, समाजवादका लागि दुई तिहाई बहुमत ल्याउनुपर्छ : वामदेव गौतम

मरौँला वा बाँचौला फरक पर्दैन, समाजवादका लागि दुई तिहाई बहुमत ल्याउनुपर्छ : वामदेव गौतम

नेपालखबर
मंसिर २२, २०८२ सोमबार १७:३३, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले आगामी फागून २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा दुई तिहाई बहुमत ल्याउनुपर्ने बताएका छन्। 

ललितपुरमा सोमबार आयोजित कार्यक्रममा बोल्दै गौतमले निर्वाचनबाट दुई तिहाई बहुमत ल्याएपछि समाजवादको यात्रा तय गर्ने बताए। दुई तिहाई मत ल्याउनका लागि अहिलेदेखि नै तयारी थाल्न कार्यकर्तालाई निर्देशन दिए। 

‘मरौँला अथवा बाँचौला फरक पर्दैन तर हामी समाजवाद निर्माण गर्नको निम्ति आगामी फागुन २१ गतेको निर्वाचनबाट अहिले तपाईहरूको बीचमा पनि म भन्न चाहन्छु, दुई तिहाई बहुमतमा नै हामी पुग्नुपर्छ,’ गौतमले भने।

उनले टोल, वडा, पालिका कुनै स्थान खाली नराखी जनतामा जानुपर्ने बताए। ‘हामी नेपाली कम्युनिस्ट पार्टी, आज १७ वटा पार्टी यसमा एकीकृत भएका छन् र हामी अगाडि बढ्दै छौँ,’ उनले भने, ‘अहिलेदेखि नै जानुपर्छ हामी जनताको बीचमा, कही कुनै पालिका खाली गर्ने होईन, कुनै वडा खाली गर्ने होईन, कुनै टोल खाली गर्ने होईन, सब ठाउँमा।’

धेरै पार्टी एकीकृत भएर नेकपा बनेको उल्लेख गर्दै उनले जनताको घर दैलोमा पुग्न नेताको अभाव नै नहुने बताए। ‘१७ वटा पार्टी सामेल भईसकेपछि नेताको अभाव नै हुँदैन, ती सबै नेता जनताको घर दैलोमा पुग्ने हो। त्यो अभियान हामीले शुरु गर्ने हो,’ उनले भने। 

देशमा समाजवाद ल्याउनको लागि नेकपाले दुईतिहाई ल्याउनैपर्ने उनको भनाइ थियो। नेकपाले दुईतिहाई बहुमत ल्याएपछि समाजवादको काम थालनी हुनेले उनको दाबी थियो। 

‘दुईतिहाई बहुमतसहितको भएपछि हामीले सुरु गर्नेछौँ, समाजवादको काम। त्यहाँबाट थालनी हुनेछ, बाटो बन्नेछ, उत्पादन हुनेछ। घरहरू बन्नेछन्, कसरी जनतालाई सुविधा हुन्छ, सारा संसारबाट वैज्ञानिकहरूलाई ल्याउनेछौँ।’

आउने नयाँ पुस्ताले गौरव गर्ने खालको नेपाल निर्माण गरिने गौतमको भनाइ थियो। ‘हामीले पनि सीप सिक्न पठाउनेछौँ, ठाउँठाउँमा। हामीले यस्तो किसिमको नेपाल निर्माण गर्नेछौँ र जसलाई हाम्रा सन्ततीहरुले सधैभरी गौरव गर्नेछन्,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad