राजनीति


काठमाडौँ आएर साम्पाङले भने- अहिलेसम्म यो देशमा नेता हुन लायक मान्छे देखिनँ

काठमाडौँ आएर साम्पाङले भने- अहिलेसम्म यो देशमा नेता हुन लायक मान्छे देखिनँ

नेपालखबर
मंसिर २२, २०८२ सोमबार १४:४०, काठमाडौँ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशमा अहिलेसम्म योग्य, भिजनयुक्त र जिम्मेवार नेतृत्व नदेखिएको भन्दै कडा आलोचना गरेका छन्। 

सोमबार काठमाडौँमा आयोजित सभामा बोल्दै उनले विगतका निर्वाचित नेताहरुले देशलाई दिशाहीन बनाएको दाबी गरे। साम्पाङले भने, ‘अहिलेसम्म यो देशमा नेता हुन लायक मान्छे मैले देखिनँ।’

उनका अनुसार, नेपालको राजनीतिमा नेतृत्व भन्ने शब्द केवल पद र शक्तिमा सीमित भयो, देश विकासका लागि आवश्यक दृष्टिकोण नभएको प्रमाणित हुँदै आएको छ।

साम्पाङ भन्छन्, ‘यो देशमा हामीले आजसम्म चुनेको नेतामा भिजन थिएन। कसरी यो देशको अर्थतन्त्रलाई उठाउने भन्ने भिजन थिएन।’ उनको आरोप छ कि नेताहरूले विदेशी शक्तिको चाकडी गर्न, अलिकति अनुदान लिन र धेरै ऋण लिनमै आफूलाई सीमित गरे।

साम्पाङले थपे, ‘लिएको ऋणले पनि बाटो नबनाउने, घर बनाउने। बरु पुल नबनाउने, आफ्नो सम्पत्ति जोड्ने। यो खालको मान्छेहरुलाई हामीले नेता ठानेर चुनिरह्यौँ।’

विगतका चुनावमा जनता नेतृत्व चयनमा भ्रमित भएको साम्पाङको टिप्पणी छ। उनले भने, ‘भिजन नभएको नेता चुनेको हुनाले ऊ आफैलाई पनि थाहा हुँदैन देशलाई कहाँ पुर्‍याउने?’

साम्पाङका अनुसार, समयको मूल्य नबुझ्ने नेतृत्वले युवालाई समेत दिशाहीन बनाइरहेको छ। उनका शब्दमा, ‘भिजन नभएको नेतालाई समयको महत्व हुँदैन। उसले युवालाई पनि समयको महत्व बुझाउँदैन।’

भ्रष्टाचार र अन्याय बढ्नु पनि गलत नेतृत्व चयनकै परिणाम भएको उनको निष्कर्ष छ। साम्पाङले अन्त्यमा भने, ‘हामी त्यस्ता मान्छेलाई चुनिरह्यौँ जुन मान्छेले भ्रष्टाचारमाथि भ्रष्टाचार गरिरहे, अन्यायमाथि अन्याय गरिरहे।’

साम्पाङले अब नेतृत्व चयनमा जनताले सचेत हुनुपर्ने र भिजनयुक्त व्यक्तिलाई अघि ल्याउनुपर्ने आवश्यकता औंल्याए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad