राजनीति


ईश्वर पोखरेलको नेतृत्वमा सामूहिक ढंगले अघि बढ्न चाहेका हौं : युवराज ज्ञवाली

ईश्वर पोखरेलको नेतृत्वमा सामूहिक ढंगले अघि बढ्न चाहेका हौं : युवराज ज्ञवाली

नेपालखबर
मंसिर २२, २०८२ सोमबार १४:४६, काठमाडौँ

नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले पार्टीको ११औँ महाधिवेशनमा आफूहरूले सामूहिक नेतृत्व प्रणालीलाई स्थापित गराउन नेतृत्व परिवर्तन गर्न चाहेको बताएका छन्। 

उपाध्यक्ष ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीले एकलकाटे प्रवृत्ति देखाएको र नेतृत्व प्रदान भन्ने गलत मान्यतालाई अघि बढाएकाले आफूहरूले त्यसको विकल्पमा ईश्वर पोखरेललाई नयाँ नेतृत्वको रुपमा अघि बढाउन बाध्य हुने परेको जिकिर गरेका छन्। सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै ज्ञवालीले सामूहिक नेतृत्व विना लोकतन्त्र सफल हुन नसक्ने बताए।

‘सामूहिक नेतृत्व नभएको लोकतन्त्र सुदृढ हुन सक्दैन, बलियो हुन सक्दैन। टिकाउ पनि हुन सक्दैन। राम्रोसँग चल्न सक्दैन। कलेक्टिक लिडरसिप विनाको नेतृत्व, डेमोक्रेसी देशमा सफल हुन सक्दैन,’ उनले भने, ‘संसारको उदाहरण हेर्ने हो भने हामी त्यो पाउँछौँ। त्यसो भएको हुनाले कलेक्टिभ लिडरसिप आजको अनिवार्य आवश्यकता हो।’

सामूहिक नेतृत्वलाई अघि बढाउने मान्यतालाई स्थापित गराउनका लागि ११औँ महाधिवेशनमा पोखरेललाई अध्यक्षको रुपमा निर्वाचन गराउन चाहेको उनको भनाइ थियो।  ‘हाम्रो पार्टीमा सामूहिक नेतृत्वको प्रणाली दस्तावेजमा त भनेका छौँ। तर व्यवहारमा लागू भएन। त्यसो भएर हामीले सामूहिक नेतृत्व प्रणालीलाई स्थापित गर्नका लागि, अगाडि बढाउनका लागि अब हामी नयाँ नेतृत्वमा जान चाहन्छौँ,’ ज्ञवालीले भने।

अध्यक्ष केपी शर्मा ओलीले आलोचनालाई सुन्न नचाहने गैर मार्क्सवाद चिन्तन देखाएकाले पनि त्यस्ता खालको गलत कुराको विपक्षमा उभिनुपर्ने अवस्था आएको उनले बताए। ‘नीति प्रदान कि नेतृत्व प्रदान? यो अर्को गम्भिर प्रश्न हो। यो हामीले नीति प्रदान भनेर दस्तावेजमा लेखेकै छौँ। तर व्यवहारिक रुपमा हामी के अभ्यास गर्दै आईरहेका छौँ भने नीति होइन, नेता प्रदान हो भन्ने कुरालाई स्थापित गर्न खोजिरहेका छौँ,’ उनले भने।

सबैले नीतिको आधारमा चल्नु पर्ने उनको भनाइ थियो। ज्ञवालीले भने, ‘त्यसकारण नीति प्रदान हो, नीति अन्तर्गत नेता रहनुपर्छ नीतिको आधारमा सबै चल्नुपर्छ। नीतिको आधारमा देश चल्नु पर्छ, जनता चल्नु पर्छ। नीतिको आधारमा सम्पूर्ण पार्टी चल्नुपर्छ। नीतिको आधारमा राष्ट्रपति, प्रधानमन्त्री चल्नुपर्छ।’

नीतिको आधारमा पार्टीका सबै नेताहरू चल्नुपर्ने मान्यतालाई पुनःस्थापित गर्न चाहेको उनको भनाइ थियो। त्यसैले नेता फेर्र्न खोजेको उनले बताए। 

लोकतन्त्रमा आलोना अनिवार्य भएको उनको भनाइ छ। ‘डेमोक्रेसीमा आलोचना भन्ने कुरा अनिवार्य कुरा हो। आलोचना विनाको डेमोक्रेसी, डेमोक्रेसी हुँदैन। मार्क्सवाद आफैँमा आलोचनात्मक सिद्धान्त हो। मार्क्सवादले हरेक कुरा राम्रो छ भने त्यहाँ कमजोरी पनि छ भनेर हेर्छ। त्यो मान्छेमा हुन्छ, नीतिमा हुन्छ, नेतृत्वमा हुन्छ। प्रत्येक वस्तुमा हुन्छ, समाजमा हुन्छ,’ उनले भने।

उपाध्यक्ष ज्ञवालीले आफूहरुले ईश्वर पोखरेलको नेतृत्वमा सामूहिक ढंगले पार्टीलाई अघि बढाउने र लोकतन्त्रको सुदृढिकरणमा नेतृत्वदायी भुमिका खेल्न चाहेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad