सभामुख देवराज घिमिरेले सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान नगरेकोप्रति कडा असन्तुष्टि जनाएका छन्।
आइतबार संसद सेवा दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले प्रतिनिधि सभा नचले पनि राष्ट्रिय सभालाई प्रभावकारी रूपले सञ्चालन गर्न सुझाव दिए पनि सरकारले ध्यान नदिएको बताए।
उनले भने, ‘अब अहिले हामीले माग गर्दा पनि राष्ट्रिय सभाको अधिवेशन बोलाईराखिएको छैन। त्यो त स्थायी प्रकृतिको हो नि। त्यसलाई कसरी चलाउने भन्ने विषयमा आजकै दिन ठोस निकास दिइनुपर्छ।’
सभामुख घिमिरेले संसदका कर्मचारीहरूको प्रभावकारी सञ्चालन तथा आवश्यक कानुनी संरचना निर्माणका लागि संसद एकेडेमी स्थापना जरुरी रहेको समेत बताए।
उनका अनुसार २०५८ सालअघि निजामती सेवा प्रमुख भूमिकामा रहेर काम गर्ने पुरानो परम्परा अझै परिवर्तन हुन नसक्दा संसद सेवाको पहिचान, भूमिका र विशेषता अझै स्पष्ट नबनेको छ।
उनले थपे, ‘संसदलाई देशको आवश्यकताअनुसार स्थापित गर्दै प्रभावकारी रूपमा लैजानु, बनेका कानुन कार्यान्वयनका लागि सरकारलाई बाध्य बनाउनु- अहिलेको मुख्य आवश्यकता यही हो।’
साथै, संसद सचिवालयका पदाधिकारी नियुक्तिबारे पनि गम्भीर छलफल आवश्यक रहेको सभामुख घिमिरेले बताए।
Shares

प्रतिक्रिया