राजनीति


राजसंस्था, हिन्दु धर्म, प्रदेश संरचना र प्रत्यक्ष कार्यकारीबारे जनमत संग्रह गर्नुपर्छः दुर्गा प्रसाईं

राजसंस्था, हिन्दु धर्म, प्रदेश संरचना र प्रत्यक्ष कार्यकारीबारे जनमत संग्रह गर्नुपर्छः दुर्गा प्रसाईं

नेपालखबर
मंसिर १८, २०८२ बिहिबार १२:३५, काठमाडौँ

नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंले वैदिक सनातन हिन्दु धर्म, राजसंस्था, प्रदेश संरचना र प्रत्यक्ष कार्यकारी प्रणालीबारे जनमत संग्रहमा जानुपर्ने माग दोहोर्‍याएका छन्। 

अन्तरिम सरकारसँग आफूले विभिन्न मुद्दामा औपचारिक माग राखिसकेको उल्लेख गर्दै प्रसाईंले मुलुकलाई सम्भावित द्वन्द्वबाट जोगाउन जनमत संग्रह नै अन्तिम विकल्प भएको दाबी गरे।

प्रसाईंले सरकारले जनताको भावना बिपरीत ‘उल्टो बाटो’ पछ्याइरहेको आरोप लगाउँदै भनी दिए, ‘हामीले किराँत, बौद्धसहित वैदिक सत्य सनातन हिन्दु धर्म, राजसंस्था, प्रदेश र प्रत्यक्ष कार्यकारीको विषयमा जनमत संग्रहमा जाऔँ भनेका छौँ। लडाइँ चाहनु हुँदैन भने जनमत संग्रहमै जाऔँ। नेपाल जोगाउने बाटो बनाइदिउँ।’

उनले आफ्नो माग कुनै पनि हालतमा राष्ट्र विखण्डनतर्फ नलाग्ने दाबी गर्दै थपे, ‘मेरा माग नेपाल बेच्ने माग होइनन्, नेपालीको माग हुन्। नेपाल टुक्राउने कुनै प्रस्ताव छैन। गृहमन्त्री पोजेटिभ हुनुहुन्छ। सरकार ६० प्रतिशत माग पूरा गर्छ भन्नेमा म विश्वस्त छु।’

सरकारले माग बेवास्ता गरे आन्दोलन अपरिहार्य हुने चेतावनी पनि प्रसाईंले दिए। उनले भने, ‘माग पूरा नभए आन्दोलन छँदैछ। चित्त नबुझे आन्दोलन गर्ने हो। यदि यी माग पूरा भएनन् भने हामी आन्दोलन गर्छौँ।’

प्रसाईंले अन्तरिम सरकार भ्रष्टाचारविरुद्ध कारबाही गर्न असफल भएको आरोप लगाउँदै जेनजी आन्दोलनका आधारमा बनेको सरकारले अहिले आफ्नै आधार समूहलाई थुन्न थालेको टिप्पणी गरे। ‘उहाँहरूले भ्रष्टाचारीलाई कारबाही गर्न सकेनन्। जुन जेनजीलाई टेकेर सरकारमा जानुभयो, त्यही जेनजीलाई थुनिरहनु भएको छ। सरकार उल्टो बाटोमा हिँडिरहेको छ। जेनजी विद्रोहीलाई थुन्नु हुँदैन,’ उनको भनाइ छ।

प्रसाईंले २३ र २४ गते आन्दोलनमा सहभागी हुनेहरूलाई सरकारले पक्राउ गर्नु नहुने बताएका छन्। राष्ट्रलाई संकटबाट जोगाउन सबैलाई आफ्नो अभियानमा साथ दिन उनले आह्वान गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad