आगामी प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र बन्दै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नेता तथा कार्यकर्ताहरूले स्वघोषित उम्मेदवारी गर्ने क्रमलाई तत्काल रोक्न निर्देशन दिएको छ।
नेता र कार्यकर्ताले पार्टीको औपचारिक निर्णयबिना नै आफूलाई उम्मेदवार घोषणा गर्दै आएपछि पार्टीले आग्रह गरेको हो। उम्मेदवार छनोट समितिका संयोजक विपिन कुमार आचार्यले एक विज्ञप्ति जारी गर्दै यस्तो अभिव्यक्तिमा तत्काल रोक लगाउन आग्रह गरेका हुन्।
रास्वपाका केही नेताहरूले 'यो क्षेत्रको उम्मेदवार मै हुँ', भनेर उम्मेदवारी सार्वजनिक गर्न थालेका थिए। तर, पार्टीले यस्तो गतिविधि अनधिकृत र पार्टीको आधिकारिक निर्णयविपरीत भएको स्पष्ट पारेको छ।
रास्वपाले जारी गरेको विज्ञप्तिमा उम्मेदवार छनोटको प्रक्रिया पार्टीले पारित गरेको आधिकारिक रूपरेखा र विधिअनुसार मात्र अघि बढ्ने स्पष्ट गरिएको छ। पार्टीले हालसम्म रुपन्देही क्षेत्र नम्बर ३ का लागि मात्र उम्मेदवार औपचारिक रूपमा चयन भएको जनाएको छ।
'पार्टी नीति अनुरूप रुपन्देही क्षेत्र नम्बर ३ का लागि मात्रै उम्मेदवार औपचारिक रूपमा चयन भएको छ। यसबाहेक अन्य कुनै पनि प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि हालसम्म पार्टीको तर्फबाट उम्मेदवार टुङ्गो लागेको छैन' विज्ञप्तिमा भनिएको छ।
पार्टीले आधिकारिक निर्णय नभइसकेको अवस्थामा कुनै पनि निर्वाचन क्षेत्रको उम्मेदवारसम्बन्धी भ्रामक, अपुष्ट वा अफवाह फैलिने खालका वक्तव्य, प्रचार–प्रसार वा गतिविधि नगर्न भनिएको छ।
Shares

प्रतिक्रिया