नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेशका पूर्व इन्चार्ज कर्ण थापामाथि पार्टी केन्द्रीय कार्यालय च्यासलमा दुर्व्यवहार भएको छ। अध्यक्ष केपी शर्मा ओली अघिपछि हिँड्ने कृष्णसागर वलीले अभद्र व्यवहार गरेका हुन्।
नेपालखबरसँग कुराकानी गर्दै नेता थापाले धाकधम्की दिनेहरू अध्यक्ष ओली अघिपछि हिँड्ने गरेको भन्दै आइतबार त्यस्तै व्यक्तिले अभद्र व्यवहार गरेको बताए। ‘अहिले अध्यक्षका अघिपछि धाकधम्की दिने खालका मान्छेहरू छन्। तिनले मान्छे चिन्दैनन्। त्यस्तै एक व्यक्तिले मलाई अघि जान रोकेका हुन्’ नेता थापाले भने, ‘मिडियाका मान्छेहरूले मलाई सोध्दै थिए, म बोल्दै थिएँ। त्यही वेलामा अध्यक्ष आउनुभयो। गाडीबाट ओर्लिनुभयो। म त अध्यक्ष अगाडि जानुपर्यो। त्यसले मलाई रोक्यो।’
थापामाथि अभद्र व्यवहार र अवाञ्छित टिप्पणी गर्ने व्यक्तिको पृष्ठभूमि अपराधिक भएको खुलेको छ। दुर्व्यवहारमा परेका नेता थापा पार्टीभित्र अध्यक्ष ओलीको नेतृत्व शैली र कार्यशैलीका आलोचकका रूपमा चिनिन्छन्। उनी लामो समयदेखि पार्टीभित्र राष्ट्रपति विद्यादेवी भण्डारी पक्षका नेताको कित्तामा छन्, जसले गर्दा ओली पक्षसँग उनको वैचारिक र राजनीतिक दूरी रहँदै आएको छ।
गत भदौमा भएको एमालेको विधान महाधिवेशनमा नेता थापाले ओलीको नेतृत्व र प्रस्तुत गरिएका दस्तावेजको सशक्त आलोचना गरेका थिए। सुदूरपश्चिममा इन्चार्ज तोक्ने लगायतका विषयमा ओलीले गरेको एकल निर्णयको विरुद्धमा उभिएका उनले बन्दसत्रमै असहमति प्रकट गरेका थिए।
विधान महाधिवेशनमा पार्टीभित्रको आन्तरिक लोकतन्त्रको पक्षमा जोडदार आवाज उठाएपछि उनी ओली खेमाका लागि अप्रिय पात्र बन्न पुगेका थिए।
आफूलाई नचिन्दा अभद्र व्ययवहार भएको नेता थापाले बताए। अध्यक्ष ओली केन्द्रीय कार्यालयमा आउँदा आफूतर्फ बोलाएको र अध्यक्षतिर जाँदा ती व्यक्तिले रोकेको उनको भनाइ छ।
अभद्र व्यवहार गर्ने कृष्णसागर वली को हुन्?
अदालत र प्रहरी रेकर्ड अनि मिडियामा प्रकाशित रिपोर्टअनुसार च्यासलस्थित पार्टी कार्यालयमा थापामाथि दुर्व्यवहार गर्ने व्यक्ति दाङको तुलसीपुर-६ निवासी कृष्णसागर वली हुन्। उनको पृष्ठभूमि गम्भीर आपराधिक क्रियाकलापमा संलग्न रहेको देखिएको छ।
उनी सामूहिक बलात्कार मुद्दामा संलग्न भई सर्वोच्च अदालतबाट ‘बलात्कारी मतियार’ प्रमाणित भएका र अदालतले तोकेको सजाय भुक्तान गरिसकेका व्यक्ति हुन्। गम्भीर आपराधिक पृष्ठभूमिका व्यक्तिले अध्यक्ष वरिपरि घुम्दै पार्टी कार्यालयमै स्थायी कमिटी सदस्यमाथि दुर्व्यवहार गर्नुलाई एमाले नेताले गम्भीर रूपमा लिएका छन्।
वलीलाई प्रहरीले सार्वजनिक अपराध र ज्यान मार्ने उद्योग लगायतका विभिन्न गम्भीर मुद्दामा पटक-पटक पक्राउ गरिसकेको छ। पहिले एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघमा सक्रिय उनी २०७९ सालको निर्वाचनको नेपाली कांग्रेसमा प्रवेश गरेका थिए।
हाल उनी औपचारिक रूपमा एमालेमा नफर्के पनि अध्यक्ष ओली निवास गुण्डु आउजाउ गर्ने गरेका छन्।
Shares

प्रतिक्रिया