रास्वपा उपाध्यक्ष स्वर्णिम वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीको एकता ‘विन–विन’को भएको बताएका छन्।
शनिबार एकता घोषणा सभालाई सम्बोधन गर्दै उपाध्यक्ष वाग्लेले उज्ज्व थापाको ‘लिगेसी’ अगाडि बढाउने एकता गरिएको उनको भनाइ थियो। बजारमा भएका हल्लालाई ध्यान नदिन उनले आग्रह गरे। ‘उज्ज्वलको लिगेसीलाई थप उचाइमा पुर्याउने जिम्मा सबैको भएको छ,’ वाग्लेले भने, ‘आजको एकता विन–विन हो। सबैले जितेको समृद्ध शक्ति बनाएका छौं।’
विवेकशील साझाको सुरुवात गर्ने उज्ज्वल थापासँग लामो सम्बन्ध रहेको बताउँदै उनले समानताको राजनीतिबाट अघि बढाउनुपर्ने बताए। ‘झन नयाँ र झन शक्ति रास्वपा बनेको छ। आशा मारेका युवालाई नेपालमा अब केही हुन्छ है भन्ने सन्देश दिनुपर्छ,’ उनले भने, ‘अहिलेको लोकतन्त्रलाई थप सशक्त बनाएर जानुपर्छ।’
यो एकताबाट रास्वपा सभापति रवि लामिछाने पनि खुशी रहेको उनले सुनाए। आज मात्रै लामिछानेसँग कुराकानी भएको सुनाउँदै उनले भने, ‘रविजीको सन्देश छ– हिजो पाउना थियौं, आजदेखि एउटै परिवार भएका छौं।’
Shares

प्रतिक्रिया