राजनीति


पुस मसान्तको महाधिवेशन तालिका ल्याउने देउवाको प्रस्तावविरुद्ध उत्रियो उनकै समूह

पुस मसान्तको महाधिवेशन तालिका ल्याउने देउवाको प्रस्तावविरुद्ध उत्रियो उनकै समूह

फाइल तस्बिर


नेपालखबर
मंसिर १४, २०८२ आइतबार १७:४३, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकट एक समूहले सहमहामन्त्री महेन्द्र यादवले केन्द्रीय समितिमा पेस गरेको महाधिवेशन तालिकालाई कार्यान्वयनमा लैजानुपर्ने निष्कर्ष निकालेको छ। 

आइतबार काठमाडौँको बानेश्वरस्थित सनराइज बैंक्वेटमा भएको छलफलले यादवले पेस गरेको प्रस्ताव बहुमतले पास गर्ने निर्णय गरेको हो। 

उता सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, शेखर कोइराला, रमेश लेखकसहितको छलफलले भने पुस मसान्तमा नियमित महाधिवेशनको तालिका ल्याउने निष्कर्ष निकालिसकेको छ। यसमा महामन्त्री थापाले भने असहमति जनाएका छन्। 

उक्त बैठकले कार्यवाहाक सभापति खड्का र नेता रमेश लेखकले ‘लाइनभन्दा’ बाहिर गएर राजनीति गरेको निष्कर्ष निकालेको छ। 

खड्का र लेखकले सभापति शेरबहादुर देउवालाई समेत झुक्याउन खोजेको उक्त छलफलको निष्कर्ष छ। ‘पहिलेदेखिनै कुरा उठेको थियो । उहाँहरूलाई हामीले विश्वासमा लिन खोजे पनि धोका दिनुभयो भन्ने हामीले निष्कर्ष  निकाल्यौँ‚’ स्रोतले भन्यो।

उनले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशनको विकल्प नभएको बताउँदै आएका छन्।  

तर, कांग्रेस संस्थापनकै एक समूह भने फागुन २१ को प्रतिनिधि सभा निर्वाचनअघि महाधिवेशन गर्न नहुने र वैशाखमा महाधिवेशन गर्नुपर्ने अडानमा छ। 

'छलफलले सहमहामन्त्री महेन्द्र यादवले प्रस्तुत गर्नु भएको प्रस्ताव केन्द्रीय समितिबाट बहुमतले पारित गर्ने निर्णय गर्नुपर्छ,' बैठकमा सहभागी एक नेताले भने, 'कार्यवाहक सभापतिले वैशाखमा महाधिवेशन गर्ने भन्ने पक्षसँग परामर्श नगरी अर्को प्रस्ताव ल्याए त्यसको विपक्षमा उभिने निष्कर्ष पनि निकालेको छ।' 

आजको छलफलमा नेता विमलेन्द्र निधिले शनिबार सभापतिको निवासमा भएको निष्कर्षको ब्रिफिङ गरेका थिए। आजको छलफलमा निधिसहित, डा प्रकाशशरण महत, गुरु बरालसहित केन्द्रीय सदस्यहरू सहभागी थिए। 

गत कात्तिक १८ गते केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री थापाले पेस गरेको पार्टीको १५ औँ महाधिवेशनको कार्यतालिकाको काउन्टरमा सहमहामन्त्री यादवले अर्को कार्यतालिका पेस गरेका थिए।

महामन्त्री थापाले आगामी पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका पेस गरेका थिए। थापाले अहिले यो समय घर्कीसकेको भन्दै विशेष महाधिवेशको विकल्प नभएको बताउँदै आएका छन्। 

त्यतिबेला सहमहामन्त्री यादवले थापाको प्रस्तावको काउन्टरमा आगामी वैशाख २७ देखि २९ गतेसम्म १५ औँ महाधिवेशन गर्ने कार्यतालिका बैठकमा पेस गरेका थिए। 

थापाले पुस ५ र ६ गतेदेखि वडा, पालिका र प्रदेश अधिवेशन सुरु गरेर पुस १६ देखि १९ गतेभित्र केन्द्रीय अधिवेशन सम्पन्न गर्ने कार्यतालिका मौखिक रूपमा पेस गरेका थिए।

सहमहामन्त्री यादवले भने चैतमै वडादेखि केन्द्रसम्मको अधिवेशन सक्ने कार्यतालिका पेस गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad