राजनीति


कांग्रेस संस्थापन भेलाको निष्कर्ष- कार्यसमितिको म्याद थप्ने, चुनावपछि महाधिवेशन गर्ने

कांग्रेस संस्थापन भेलाको निष्कर्ष- कार्यसमितिको म्याद थप्ने, चुनावपछि महाधिवेशन गर्ने

फाइल तस्बिर


नेपालखबर
मंसिर १२, २०८२ शुक्रबार १४:२४, काठमाडौँ

नेपाली कांग्रेसको संस्थापन समूहको भेलाले फागुन २१ गतेको निर्वाचनपछि मात्रै पार्टी महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको छ।

काठमाडौँको बानेश्वरस्थित आनन्दभूमि होटलमा भएको यो समूहको छलफलले निर्वाचनअघि क्रियाशील सदस्यताको विषय टुंगो लगाएर जानुपर्ने निष्कर्ष निकालेको केन्द्रीय सदस्य डा रणबहादुर रावलले जानकारी दिए। 

'आज हामीले अहिलेको परिस्थितिमा विशेष गरेर चुनावपश्चात अधिवेशन गर्नुपर्ने निष्कर्ष निकाल्यौं। एकजुट भएर ‘फुल टार्गेट’का साथ जाने भन्ने कुरा भएको छ,' उनले भने, 'निर्वाचनअगाडि क्रियाशील सदस्यता क्लियर गरेर केन्द्रीय कार्यसमितिमा ल्याएर पार्टीको निर्वाचन गर्ने कमिटीमा पेस गर्ने पनि कुरा भएको छ।'

उनले अहिलेको कार्यसमितिको म्याद थप गर्ने विषयमा पनि छलफल भएको बताए। 

'मंसिरको १० गते जिल्ला सभापतिदेखि तलको सम्पूर्णको म्याद सकियो। हामी केन्द्रीय समितिको म्याद २८ गतेसम्म छ। पहिलो नम्बरमा अहिलेको कार्यसमितिको म्याद थप्नुपर्छ। नभए २८ गतेपछि हामी सबै अवैधानिक हुन्छौं' उनले छलफलबारे भने।  

उनले विधानअनुसार पार्टीको म्याद थपको काम आगामी बैठकमै पेस हुने र सहमति नभए बहुमत तथा अल्पमतबाट निर्णय गर्नुपर्ने विषयमा पनि छलफल भएको बताए। 

कांग्रेसभित्र महाधिवेशन चुनावअघि कि पछि भन्ने विषयमा विवाद चर्किँदो छ। यहीकारणले असोज २८ देखि सुरु भएको केन्द्रीय समिति बैठक स्थगित गर्दै सारिने गरेको छ। 

संस्थापन समूह चुनावपछि महाधिवेशन भनिरहेको छ भने महामन्त्रीसहितका नेता भने चुनावअघि नयाँ नेतृत्व अनिवार्य भएको बताउँदै आएका छन्। उनीहरूले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व छान्नुपर्ने बताएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad