राजनीति


एमालेको ११औँ महाधिवेशन नजिकिँदा भण्डारीको गुनासो: नवीकरण गरिसकेको पार्टी सदस्यता नेतृत्वले रोक्यो

‘महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईँहरूका साथ निरन्तर रहनेछु’
एमालेको ११औँ महाधिवेशन नजिकिँदा भण्डारीको गुनासो: नवीकरण गरिसकेको पार्टी सदस्यता नेतृत्वले रोक्यो

केपी ओली र विद्या भण्डारी


नेपालखबर
मंसिर ११, २०८२ बिहिबार १०:४, काठमाडौँ

नेकपा एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले २ वर्षअघि नै नवीरकण गरिएको आफ्नो पार्टी सदस्यता नेतृत्वले रोकेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन्। 

बिहीबार बिहान आफ्नो फेसबुक पेजमार्फत ११औँ महाधिवेशनका लागि एमालेका सदस्यहरूलाई शुभकामना दिँदै उनले आफू भने यसमा सहभागी हुनबाट वञ्चित भएको गुनासो गरेकी हुन्।

यद्यपि महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि एमाले परिवारको अभिन्न सदस्यको हैसियतले आफ्नो साथ रहने पार्टीका पूर्वउपाध्यक्ष भण्डारीले उल्लेख गरेकी छन्। 

‘मैले दुई वर्षअघि नै विधानसम्मत ढंगले नवीकरण गरिसकेको मेरो पार्टी सदस्यतालाई नेतृत्वले अनुचित तरिकाले रोकेको कारण म स्वयंको यो महाधिवेशनमा भौतिक उपस्थिति नभए तापनि पार्टी परिवारको अभिन्न सदस्यको हैसियतले म तपाईँहरूका साथ निरन्तर रहनेछु’, उनले भनेकी छन्। 

एमालेको ११औँ महाधिवेशन यही मंसिर २७, २८, २९ गते हुँदै छ। उद्घाटन कार्यक्रम भक्तपुरको सल्लाघारी र बन्दसत्र काठमाडौँको भृकुटीमण्डपमा गरिने एमालेले जनाएको छ। 

यस्तो छ भण्डारीको पूरा शुभकामना सन्देश

‘नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा पार्टी परिवारका सबै सदस्यहरूलाई हार्दिक शुभकामना दिन चाहन्छु। विद्यमान विषम राजनीतिक परिस्थितिको सामना गर्दै पार्टीलाई अग्रगतितर्फ अघि बढाउन यो महाधिवेशन पूर्ण रूपमा सफल हुनेछ भन्ने दृढ विश्वास व्यक्त गर्दछु।

महाधिवेशन पार्टीका नेता, कार्यकर्ता र सदस्यहरूको लागि नीति तथा नेतृत्व निर्माणमार्फत सामाजिक-आर्थिक रूपान्तरणतर्फ सिङ्गो पार्टीलाई मार्गदर्शन गर्ने ऐतिहासिक अवसर भएकाले यो आम जनताको समेत महत्त्वपूर्ण सरोकारको विषय हो।

विशेष परिस्थितिका कारण निर्धारित समयावधिभन्दा एक वर्षअघि नै हुन गइरहेको यस महाधिवेशनमा वैचारिक तथा राजनीतिक रूपले परिपक्व नेता-कार्यकर्ता, ऊर्जाशील एवं अनुशासित युवा पुस्ता र विभिन्न क्षेत्रको सन्तुलित प्रतिनिधित्व सुनिश्चित हुनेगरी महाधिवेशन प्रतिनिधि छनोटमा सम्पूर्ण पार्टी पंक्तिले उच्च जिम्मेवारीका साथ ध्यान दिने नै छ। 

मैले दुई वर्षअघि नै विधानसम्मत ढंगले नवीकरण गरिसकेको मेरो पार्टी सदस्यतालाई नेतृत्वले अनुचित तरिकाले रोकेको कारण, म स्वयंको यो महाधिवेशनमा भौतिक उपस्थिति नभए तापनि पार्टी परिवारको अभिन्न सदस्यको हैसियतले म तपाईँहरूका साथ निरन्तर रहनेछु।

सम्पूर्ण देशभक्त, राष्ट्रवादी र प्रगतिशील नेपाली जनताको आशा-भरोसाको केन्द्र तथा हाम्रो आस्था र विश्वासको धरोहर नेकपा (एमाले) को यो महाधिवेशन पूर्ण रूपले सफल होस् भन्ने अन्तरमनबाटै शुभेच्छा व्यक्त गर्दछु।’

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी सदस्यता खारेज गर्दै विद्या भण्डारीलाई रोके पनि भण्डारी पक्षधर वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad