लकडाउन खुकुलो भएपछि विदेशमा अलपत्र नेपाली श्रमिकलाई स्वदेश फिर्ता ल्याउने विषयमा अध्ययन भइरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले बताएका छन्।
बुधबार श्रमिकहरुलाई सम्बोधन गर्दै मन्त्री यादवले कम्पनीले बिदा दिँदा, करार अवधि समाप्त हुँदा र अन्य कारणले स्वदेश फर्कन बाध्यता भए पनि फर्काउन नसकिएको भन्दै धैर्यता गर्न आग्रह गरेका छन्।
बीसौं लाख नेपाली श्रमिकहरु खाडी, मलेसिया तथा अन्य मुलुकहरुमा रहे पनि थोरै नेपालीहरुलाई मात्रै फिर्ता ल्याएर क्वारेन्टिनमा राख्न सकिने उनले बताए। विभिन्न कारणले अलपत्र परेका, विरामी तथा असक्त व्यक्तिहरुलाई प्राथमिकता दिइने मन्त्री यादवले सम्बोधनका क्रममा बताएका छन्।
उनले विदेशमा रहेका नेपाली श्रमिकको समस्या बारे जानकारी लिइरहेको पनि बताए।
स्वदेश फर्काउन नसकेपनि त्यहाँ रहेका दुतावासहरु, अवैतनिक राजदूतहरु, गैर आवासीय नेपाली संघ संगठन, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय मिडियामार्फत श्रमिकले भोगेको पीडालाई दैनिक रुपमा जानकारी लिई अनुभूत गरिरहेको मन्त्री यादवले बताए।
‘लकडाउनको अवधिमा आफू जहाँ हुनुहुन्छ त्यही सुरक्षित बस्नुहोस्’, श्रम मन्त्रीको सम्बोधनमा भनिएको छ, ‘खर्चको अभावमा र अन्य कारणले खान बस्नको कठिनाई छ भने सम्बन्धित दूतावासहरुमा फोन वा सामाजिक सञ्जालका माध्यमबाट सम्पर्क गर्न सक्नुहुनेछ।’
विदेशमा रहेका नेपाली संघ संस्थाहरुलाई दुःखमा परेका र अलपत्र भएका नेपालीहरुलाई सहयोग गर्न आग्रह पनि गरेका छन्। आप्रवासी श्रमिकलाई लक्षित गरी सम्बन्धित देशले राहतका कार्यक्रमहरु घोषणा गरेकाले त्यसबाट लाभ लिन श्रम मन्त्रीले भनेका छन्।
Shares

प्रतिक्रिया