विचार


अमेरिका-चीन सम्बन्धको अन्त्य

अमेरिका-चीन सम्बन्धको अन्त्य

स्टिफन एस रोच
बैशाख १७, २०७७ बुधबार १४:१५,

गएको ४८ वर्षमा अमेरिका–चीन सम्बन्ध सुधार्न निकै मेहनत खर्च भयो। तर, अहिले यी दुई ठूला अर्थतन्त्रबीचको सम्बन्ध विच्छेदको विन्दुमा आइपुगेको छ। अमेरिका–चीन सम्बन्ध यसरी बिग्रिनैपर्ने कारण केही थिएन। तर, अहिलेलाई यो मृत्युउन्मुख देखिन्छ।

यस्तो अन्त्य दुवै पक्ष र संसारकै लागि दुःखद् हो। अनावश्यक व्यापार युद्धबाट सुरु भएको यो झगडा अहिले कोरोना भाइरस युद्धमा परिणत भएको छ। दुवै आक्रोशित मुलुक अहिले एकअर्कामाथि दोषारोपणमा उत्रेका छन्, जसबाट बाहिर निस्किन सहज छैन।

राष्ट्रवादी अमेरिकी जनता चीनसँग दिक्क भएका छन्। प्यु रिसर्च सेन्टरको नयाँ सर्वेक्षणअनुसार ६६ प्रतिशत अमेरिकी नागरिक चीनप्रति नकारात्मक दृष्टिकोण राख्छन्। यो गत वर्षभन्दा ६ प्रतिशतले बढी हो। र, यो १५ वर्षयताकै सबैभन्दा उच्च अंक हो। रिपब्लिकन, ५० वर्षभन्दा माथिका र कलेज उत्तीर्ण गरेकामा चीनप्रति अझ बढी नकारात्मक धारणा छ। त्यस्तै, कम शिक्षित, युवा र डेमोक्रेटमाझ पनि चीनको छवि अहिलेसम्मकै खराब बनेको छ।

अर्कोतर्फ, उत्तिकै राष्ट्रवादी चिनियाँ जनता पनि अमेरिकासँग क्रुद्ध छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना महामारीलाई ‘चिनियाँ भाइरस’ भनेकाले मात्रै उनीहरु नकारात्मक बनेका होइनन्। कोभिड–१९ महामारी वुहान नेसनल बायोसेफ्टी ल्याबरोटरीबाट सुरु भएको आरोपका कारण पनि चिनियाँहरु अमेरिकाप्रति रिसाएका हुन्।

विश्वकै सबैभन्दा महत्वपूर्ण द्विपक्षीय सम्बन्ध हो, अमेरिका–चीन सम्बन्ध। त्यसैले उनीहरु जस्तालाई तस्तैको भाकामा आरोपप्रत्यारोपमा उत्रिनु उचित होइन। तर, आवेगरहित तार्किकताको समय गुज्रिसकेको छ। त्यसैले अमेरिका–चीन सम्बन्ध विच्छेदको कठिन परिणाम झेल्न हामी तयार हुनुपर्छ।

अमेरिका र चीन दुवैको अर्थतन्त्र परस्पर निर्भर छन्। त्यसैले दुवैलाई चोट पर्नेछ। यतिबेला चीनको कुल गार्हस्थ उत्पादनको २० प्रतिशत हिस्सा निर्यातले ओगट्छ। यस्तो अवस्थामा उसले सबैभन्दा ठूलो विदेशी माग गुमाउँदैछ। चीनलाई घरेलु अन्वेषणको विकासका लागि अमेरिकी प्रविधि नभइ हुँदैन। तर, सम्बन्ध बिग्रेसँगै अमेरिकी प्रविधिमाथिको पहुँच पनि उसले गुमाउनेछ।

सम्बन्धविच्छेदको परिणाम अमेरिकाका लागि पनि उत्तिकै हानिकारक हुनेछ। अमेरिकाले सस्तो सामानको स्रोत गुमाउनेछ। त्यही सामानका कारण कम आय भएका थुप्रै अमेरिकी उपभोक्ताले पेट पाल्न सम्भव भएको छ। अमेरिकी अर्थतन्त्रको वृद्धिदर न्यून छ। यस्तो अवस्थामा उसले मुख्य निर्यात बजार पनि गुमाउने छ। किनभने चीन अमेरिकाको तेस्रो ठूलो निर्यात बजार हो, जुन सबैभन्दा तीव्र गतिमा वृद्धि भइरहेको छ।

अमेरिका–चीनबीच यो फाटो अचानक आएको होइन। मानिसहरुको आपसी सम्बन्धजस्तै भूराजनीतिक अन्तरनिर्भरताले द्वन्द्वमा पुर्‍याउन सक्छ। खासगरी एक पक्ष आफ्नै सूरले हिँडिरह्यो भने चाँडो झगडा हुन्छ। र, चीनले गएको एक दशक पुनर्सन्तुलनमा बिताएको थियो। निर्यात र लगानीमा आधारित वृद्धिलाई उसले उपभोगमा आधारित वृद्धिमा बदल्यो। त्यस्तै उत्पादनमुखी अर्थतन्त्रलाई सेवामुखी बनायो। अतिरिक्त बचतबाट पुँजी शोषणमा र आयातबाट अन्वेषणमा पुग्यो। यो सबैले चीनलाई एक अलग बाटोमा हिँडाएको थियो।

चीनमा निर्भर अमेरिकाका लागि यस्तो विकास असहज बन्दै गयो। पछाडि परेपछि अमेरिकाले अपमानित महसुस गर्‍यो। त्यही अपमानले गर्दा पहिले उसले चीनमाथि दोषारोपण गर्‍यो र अहिले ऊ द्वन्द्वका लागि तयार छ।

अमेरिका–चीन सम्बन्धविच्छेदको असर अर्थतन्त्रमा मात्र सिमित रहने छैन। विश्वको शक्ति सन्तुलनमा निर्णायक परिवर्तन आउँदा नयाँ शीतयुद्ध पनि सुरु हुन सक्छ। ट्रम्प प्रशासनको अमेरिका फर्स्ट नीतिअन्तर्गत यो मुलुक बाहिर होइन, आफैँतर्फ फर्केको छ। उसले कुनै समय आफ्ना वफादार मित्रहरुको अपमान गर्न थालेको छ। प्रमुख बहुपक्षीय संस्थाहरुबाट हात झिक्न थालेको छ। र, व्यापारमा संरक्षणवादलाई अँगालेको छ।

अमेरिका बाहिरिँदा रिक्त भएको स्थान चीनले लिन थालेको छ। बेल्ट एन्ड रोड इनिसियटिभ, एसियन इन्फ्रास्ट्रक्चर बैंक, महामारीका बेला संसारमा स्वास्थ्य सामग्री सहयोगमार्फत योजनाबद्ध रुपमा ऊ अमेरिकाको ठाउँ लिइरहेको छ। अर्कोतर्फ अमेरिकाले हात झिक्दा स्वभाविक रुपमा दोस्रो शक्तिका रुपमा पनि ऊ अघि बढिरहेको छ।

यी संरचनागत परिवर्तनले धेरै अमेरिकीलाई घाटा हुने छ। तर, अमेरिकाले त्यसलाई बेवास्ता गरिरहेको छ। अमेरिका फर्स्टले प्रमुखता पाएसँगै भूमण्डलीकरणप्रति चिन्ता बढेको थियो। धेरै अमेरिकीहरु उनीहरुले भन्ने गरेको अन्यायपूर्ण व्यापार सम्झौताप्रति क्रुद्ध छन्। अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक लगायत संस्थामा अमेरिकाले ज्यादा पैसा तिर्नुपरेको पनि उनीहरुलाई चित्त बुझेको छैन। अमेरिकी सुरक्षा छातामा रहेका युरोप, एसिया र अन्यत्रका मुलुकहरुले आफ्नो हिस्सामा पर्ने रकम नतिरेको अमेरिकीहरुको गुनासो छ।

अमेरिकाको घरेलु बचतमा पहिलेदेखि नै मन्दी छाएको छ। अहिले महामारीका कारण सरकारी घाटा उच्च भएको बेला उसलाई ठूलो दबाब पर्न सक्छ। यसले अमेरिका फर्स्टको पहिलो एजेन्डा अर्थात् व्यापार घाटालाई मात्र बढाउने छैन, लामो अवधिका लागि आर्थिक वृद्धिमा पनि अवरोध गर्न सक्छ।

अमेरिकाको जीडीपीको तुलनामा ऋण सन् २०१९ मै ७९ प्रतिशत पुगेको थियो। यो अनुपात अब दोस्रो विश्वयुद्ध अन्त्यको समयमा बनेको कीर्तिमान अर्थात्, १ सय ६ प्रतिशतभन्दा माथि पुग्ने निश्चित छ। ब्याजदर शून्यमा छ। त्यसैले कसैले वास्ता गरेको देखिँदैन। तर, समस्या यही नै हो। ब्याजदर सधैँ शून्यमा रहने छैन। तसर्थ, ब्याजदर अलिकति बढ्नेबित्तिकै अत्यधिक ऋणमा डुबेको अमेरिकामा आर्थिक वृद्धि रोकिने छ।

के अमेरिका र चीनबीचको टुटेको सम्बन्ध फेरि गाँस्न सम्भव छ? कोभिड–१९ ले एउटा मौका दिएको छ। तर, दुवै देशका नेताले दोषारोपण छोडेर विश्वासको वातावरण कायम गर्नुपर्छ। त्यसका लागि महामारीको सुरुवाती दिनमा के भयो, त्यो स्पष्ट हुनुपर्छ। डिसेम्बरमा चीनमा के भयो र जनवरी र फेब्रुअरीमा अमेरिकामा के भयो?

यो झुठो घमण्ड र राष्ट्रवादी धक्कु लगाउने समय होइन। वास्तविक नेता इतिहासको सबैभन्दा अन्धकार क्षणमै उदाउँछन्। ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङका लागि दाउमा के छ बुझेर यो मौका छोप्न के ढिला भइसकेकै हो?

(प्रोजेक्ट सिन्डिकेटबाट। अमेरिकी अर्थशास्त्री स्टिफन एस रोच यल युनिभर्सिटीका फ्याकल्टी मेम्बर हुन्)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad