राजनीति


राप्रपा नेपालको आरोप : सरकार असक्षम, सुशासन र चुनाव तयारी कमजोर

राप्रपा नेपालको आरोप : सरकार असक्षम, सुशासन र चुनाव तयारी कमजोर

नेपालखबर
मंसिर ९, २०८२ मंगलबार १७:१५, काठमाडौँ

राप्रपा नेपालले भदौ २३ र २४ गतेको आन्दोलनको प्रमुख उद्देश्य भ्रष्टाचार अन्त्य र सुशासन प्रवर्द्धन भए पनि सरकार गठन भएको अढाई महिना बितिसक्दा कुनै ठोस परिणाम नदेखिएको टिप्पणी गरेको छ।

अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वर्तमान सरकारलाई असक्षम ठहर गर्दै जेनजी युवाआन्दोलनको भावनाअनुरूप काम गर्न सरकार असफल रहेको निष्कर्ष निकाल्दै प्रस्ताव पारित गरेको छ। 

बैठकका सहभागीहरूले फागुन २१ मा तोकिएको प्रतिनिधिसभा चुनावको प्राविधिक तयारी देखिए पनि आवश्यक शान्ति-सुरक्षा, राजनीतिक संवाद र समग्र तयारी अत्यन्तै सुस्त रहेको आरोप लगाए। राजनीतिक नेताहरूका कार्यक्रम रोक्ने तथा आवागमनमा अवरोध गर्ने गतिविधि बढेकाले चुनाव तोकिएको समयमा हुन्छ भन्ने विश्वास जनतामा कमजोर बन्दै गएको बैठकको मूल्यांकन छ।

बैठकले भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र राजनीतिक स्थिरताका लागि संरचनागत, नीतिगत तथा राजनीतिक सुधार अनिवार्य रहेको भन्दै विद्यमान निर्वाचन प्रणाली र संवैधानिक अङ्गमा हुने नियुक्ति प्रक्रियामा रहेका कमजोरीले राज्य संयन्त्र नै पार्टीकरणको चपेटामा परेको टिप्पणी गरेको छ। यथास्थितिमा हुने चुनावले आमूल परिवर्तन ल्याउन नसक्ने र चुनावपछि फेरि अपवित्र गठबन्धन र भ्रष्टाचारको श्रृंखला दोहोरिने चेतावनी पनि बैठकले दिएको छ।

सरकारले राष्ट्रपति समक्ष पेस गरेको संवैधानिक अङ्गसम्बन्धी अध्यादेशलाई प्रतिगामी र आपत्तिजनक भन्दै बैठकले तत्काल फिर्ता लिन माग गरेको छ। यथास्थितिमा हुने चुनावबाट कुनै दलले बहुमत ल्याउने सम्भावना नदेखिएकोले सनातन हिन्दू राष्ट्र, स्थानीय स्वायत्त शासन र राजसंस्थासहितको प्रजातन्त्रजस्ता पार्टीका मान्यताहरू स्थापना गर्न चुनौती रहेको बैठकले जनाएको छ।

यद्यपि पार्टीले जनताको सर्वोच्चता र प्रजातन्त्रप्रतिको प्रतिबद्धता व्यक्त गर्दै निर्वाचन आयोगको आह्वानअनुसार आगामी निर्वाचनमा भाग लिन दर्ता प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। साथै राष्ट्रिय प्रजातन्त्र पार्टीसँग एकता गर्ने निर्णय कार्यान्वयनको प्रयास जारी राख्ने र एकता सम्भव नभए समान धारणा भएका अन्य समूहहरूसँग सहकार्य गर्दै अघि बढ्ने नीति अवलम्बन गर्ने बैठकले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad