नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलमा बहुमत पुर्याउन हस्ताक्षर अभियान सुरु गरेका छन्।
विवादास्पद अध्यादेश ल्याएर फिर्ता गरेपछि पार्टीभित्रै सचिवालय र स्थायी समिति दुबैमा अल्पमतमा परेका प्रधानमन्त्री ओलीले बुधबार बालुवाटारमा सांसदहरुको हस्ताक्षर अभियान थालेका हुन्।
सोमबार र मंगलबार आफ्ना सांसदहरुसँग छलफल गरेका ओलीले बुधबार भने आफू निकटका सांसदहरुलाई हस्ताक्षर गराएको भेलामा सहभागी एक सांसदले नेपालखबरलाई जानकारी दिए।
‘संसदीय दलका नेताका हैसियतले मैले तपाईहरुलाई यहाँ बोलाएको हुँ, मलाई तपाईंहरुले संसदीय दलको नेता चुनेको हो, मप्रति विश्वास छ कि छैन, विश्वास छ भने, हस्ताक्षर गर्नुहोस्’, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भेलामा सहभागी एक सांसदले नेपालखबरसँग भने।
देशलाई अस्थिर बनाउन दिनुहुन्न भन्ने कुरामा प्रधानमन्त्रीको जोड रहेको ती सांसदले जानकारी दिए।
सो छलफलमा प्रधानमन्त्री ओलीले ग्रीस, भारत र नेपालको राजनीतिक इतिहासबारेमा चर्चा गरेका थिए।

प्रतिक्रिया