राजनीति


सरकार चुनावको कुरा गर्छ, गुन्डाहरू सभामा आक्रमण गर्छन् : ओली

सरकार चुनावको कुरा गर्छ,  गुन्डाहरू सभामा आक्रमण गर्छन् : ओली

नेपालखबर
मंसिर ३, २०८२ बुधबार १५:३३, काठमाडौँ

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बारामा आयोजित पार्टीको युवा भेलामा भएको आक्रमणलाई निन्दनीय भन्दै सरकारको भूमिकाप्रति कडा असन्तुष्टि जनाएका छन्।

बुधबार च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचनका नाममा सरकारले बैठक बोलाइरहे पनि वास्तविक राजनीतिक वातावरण भने प्रतिकूल बन्दै गएको आरोप लगाए।

‘सरकार निर्वाचन-निर्वाचन गर्छ, आज ४ बजेतिर निर्वाचनबारे छलफल गर्न बोलाएको छ,’ ओलीले भने, ‘तर बारामा हाम्रो युवा भेलामा जेनजी हुँ भन्दै केही विद्वानहरू(गुन्डा भन्दा राम्रो नलाग्ला)ढुंगामुढा गर्दै आक्रमण गर्छन्, सभामै बिथोल्छन्। तिनलाई के भन्ने?’

उनका अनुसार जनतामाझ जान, सभा गर्न र आफ्ना कार्यक्रम सञ्चालन गर्न पाउने अधिकारमा नै चोट पुर्‍याउने प्रयास भएको छ। ओलीले थपे, ‘कसैले भेला गर्छ, सभा गर्छ। त्यसैमा भौतिक आक्रमण गर्ने? सभा गर्न नदिने?’

ओलीले आफ्ना नेताहरूलाई जानबाट रोकिएको र ५०, ६० जना मान्छे भेला भएर एरपोर्ट नै बन्द गरेको भन्दै सरकारलाई प्रश्न गरे।

‘नेताहरूलाई जानबाट रोकियो एरपोर्ट नै बन्द गरेर,’ उनले भने, ‘ एरपोर्टमै तोडफोड गर्न दिइयो। यो देश के भएको? ४०, ५० जना मान्छे आएर ढुुंगा, मुढा गरेर एरपोर्ट नै बन्द गराइ दिने? के हो यस्तो?’

ओलीले जेनजीका नाममा मनपरी भइरहेको भन्दै यस्तो अवस्थामा चुनाव कसरी हुुन्छ भनेर प्रश्न गरे। ‘जतिबेला चाह्यो-जेनजी भन्यो एरपोर्ट बन्द, जेनजी भन्छ सभा बन्द,’ ओलीले भने, ‘अनि भन्छ चुनाव गर्ने अरे। सभा गर्न नदिनेले चुनाव कसो गर्छ?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad