राजनीति


सन्तोष परियारले पार्टी छाड्दा दिएको अभिव्यक्तिले रास्वपाका बागमती सभापति परे फन्दामा

स्पष्टीकरणका लागि दिएको म्याद आज सकिँदै
सन्तोष परियारले पार्टी छाड्दा दिएको अभिव्यक्तिले रास्वपाका बागमती सभापति परे फन्दामा

नेपालखबर
मंसिर २, २०८२ मंगलबार ९:३, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना बागमती प्रदेश सभापति डा. अच्युत्तम लामिछानेलाई स्पष्टीकरण दिन दिएको म्याद आज (मंगलबार) सकिँदै छ।

रास्वपाका प्रवक्ता मनीष झाका अनुसार सन्तोष परियारले पार्टी छाडेको सन्दर्भमा ‘पार्टीको चरित्र भत्किने गरी’ सार्वजनिक अभिव्यक्ति दिएकाले लामिछानेसँग स्पष्टीकरण मागिएको हो। 

‘स्पष्टीकरणका लागि आइतबार पत्र पठाएर दिएको ३ दिनको म्याद आज सकिँदै छ’, प्रवक्ता झाले मंगलबार बिहान नेपालखबरसँग भने, ‘भरेसम्म स्पष्टीकरण दिनुहोला कि?’

उनका अनुसार लिखित स्पष्टीकरण आएपछि महामन्त्री नेतृत्वको कार्यदलले त्यसको छानबिन गरी निर्णय गर्नेछ।

‘स्पष्टीकरण प्राप्त भएपछि हामी महामन्त्रीको नेतृत्वमा एउटा टोली गठन गर्नेछौँ र छानबिन गरी उचित निर्णय गर्ने छौँ’, प्रवक्ता झाले भने। 

स्पष्टीकरण आएन भने के हुन्छ?

नेपालखबरको जिज्ञासामा उनले भने, ‘निलम्बनसम्मको निर्णय हुन सक्छ।’ 

स्पष्टीकरण आएचाहिँ?

‘त्यो हेरेर हुन्छ, पहिला स्पष्टीकरण आओस् न’, प्रवक्ता झाले भने।  

विचार नमिल्दा पार्टी छाड्ने स्वतन्त्रताअनुरूप परियारले पार्टी छाडेको उल्लेख गर्दै त्यही आधारमा बागमती प्रदेश सभापति लामिछानेले ‘जान मन लाग्नेहरू पार्टी छाडेर गए हुन्छ’ आशयको अभिव्यक्ति दिएकाले स्पष्टीकरण मागिएको झाले बताए।

‘पार्टीमा गए जाओस् केही फरक पर्दैन भन्नेजस्तो अभिव्यक्ति दिनु त ठिक होइन नि’, उनले भने, ‘त्यसैले स्पष्टीकरण मागेका हौँ।’ 

रास्वपाका तत्कालीन सचिवालय सदस्य परियारले गत कात्तिक २८ गते रास्वपा त्यागेका हुन्।

परियारले राजीनामा पत्रमा लेखेका छन्, 'निरन्तर पार्टीमा विचारको बहस गरिरहँदा त्यसलाई स्थापित गर्न नसक्दा मैले आफ्नै कमजोरीको रूपमा लिएको छु। नेपाली समाजको विशिष्ट बनावट र चरित्र अनुसारको पार्टीको विचार निर्माण गर्न नसकिएकोमा पनि म दु:खी छु।' 

रास्वपा त्यागेकै दिन परियारले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र प्रगतिशील राष्ट्रिय अभियानसँग ५ बुँदे सहमति गरेका छन्। 

यसअघि पूर्वमन्त्री सुमना श्रेष्ठ रास्वपाबाट अलग भएकी थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad