ग्लोबल


शेख हसिनाविरुद्ध मृत्युदण्ड अस्वीकार गर्दै अवामी लिगद्वारा बंगलादेश बन्द घोषणा

शेख हसिनाविरुद्ध मृत्युदण्ड अस्वीकार गर्दै अवामी लिगद्वारा बंगलादेश बन्द घोषणा

नेपालखबर
मंसिर २, २०८२ मंगलबार ८:८, काठमाडौँ

बंगलादेशका पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध सुनाइएको मृत्युदण्ड उनको पार्टी अवामी लिगले अस्वीकार गरेको छ।

अवामी लिगले विज्ञप्ति जारी गर्दै अदालतको निर्णयलाई ‘दुर्भावनापूर्ण र प्रतिशोधबाट प्रेरित’ भनेको छ। 

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘हामी विश्वस्त छौँ- बंगलादेशका जनता, अवामी लिग र सबै मुक्ति संग्रामका समर्थकले यस निर्णयविरुद्ध आन्दोलन सुरु गर्नेछन्।’ 

अवामी लिगले आज मंगलबार (नोभेम्बर १८) का लागि देशव्यापी बन्दको घोषणा पनि गरेको छ। साथै उसले नोभेम्बर १९ देखि २१ सम्म देशव्यापी विरोध प्रदर्शन गर्न आह्वान गरेको छ।

अवामी लिगले बंगलादेशका अन्तरिम सरकार प्रमुख मोहम्मद युनुस र शेख हसिनालाई सजाय सुनाउने न्यायाधिकरणप्रति प्रश्न पनि उठाएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचित सरकारको सट्टा अवैध, असंवैधानिक, अनिर्वाचित फाँसीवादी युनुस र उनका सहयोगीहरूले देशमा अवैध रूपमा सत्ता कब्जा गरेका छन्। त्यसपछि अन्तर्राष्ट्रिय सिद्धान्तहरूको उल्लंघन गर्दै अवैध न्यायाधिकरण स्थापना गरेका छन्।’

अवामी लिगले अगाडि भनेको छ, ‘यो न्यायाधिकरण पूर्णतया गैरकानुनी, दुर्भावनापूर्ण, दुष्ट नियतले प्रेरित छ। युनुसले आफ्नो अवैध रूपमा कब्जा गरिएको शक्ति जोगाउन शेख हसिनाविरुद्ध यो हिंसात्मक कदम चालेका छन्।’

विज्ञप्तिमा शेख हसिनाविरुद्धको मुद्दा ‘एक ढोंगबाहेक अरू केही होइन’ भनी टिप्पणी गरिएको छ। 

बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै सोमबार मृत्युदण्डको सजाय सुनाएको हो।

गत वर्ष जुलाई-अगस्टमा विद्यार्थी विद्रोहमा १ हजार ४०० मानिस मारिने गरी बल प्रयोग गरेको भन्दै तत्कालीन प्रधानमन्त्री हसिनाविरुद्ध फाँसीको सजाय सुनाइएको हो।

उनीसँगै तत्कालीन गृहमन्त्री असदुज्जमान खान कमललाई पनि मृत्युदण्डको सजाय सुनाइएको छ।

बंगलादेशमा सन् २०२४ अगस्ट ५ का दिन विद्यार्थी नेतृत्वको विद्रोह उग्र बनेपछि हसिना १५ वर्षे लामो शासन सत्ता त्याग्दै हेलिकप्टर चढेर देशबाटै भागेकी थिइन्। त्यसयता उनी भारको शरणमा छिन्।  

कमल पनि भारतमै रहेको बताइएको छ।

यसैबीच फैसलालगत्तै बंगलादेशले उनीहरूलाई फिर्ता पठाइदिन भारतलाई अनुरोध गरेको छ। भारतले भने अमूर्त जवाफ दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad