राजनीति


ओली–प्रचण्ड एक घण्टा वार्ता, सचिवालय बैठक भोलि पनि अनिश्चित

ओली–प्रचण्ड एक घण्टा वार्ता, सचिवालय बैठक भोलि पनि अनिश्चित

नेपालखबर
बैशाख १६, २०७७ मंगलबार १२:५,

भोलि बुधबार नेकपा सचिवालय बैठक राख्न अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक देखिएका छन्।

मंगलबार अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार बालुवाटारमा भएको छलफलमा सचिवालय बैठक आयोजना गर्ने सहमती भएको हो।

केही दिनयता ओलीले आश्वासन दिँदै बैठक आयोजना गर्न अस्वीकार गर्दै आएकाले अध्यक्ष प्रचण्डसहितका नेताहरू भोली नै सचिवालय बस्ने विषयमा विश्वस्त हुन सकेका छैनन्।

पछिल्लो समय प्रधानमन्त्री ओलीले ल्याएका दुई अध्यादेशले नेकपाभित्रको विवाद उत्कर्षमा छ, जसलाई किनारा लगाउन अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपालसहितका सचिवालयका बहुमत सदस्यले सचिवालय र स्थायी समिति बैठक राख्न पहल गर्दै आएका छन्। तर अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओली सहमत नहुँदा बैठक बस्न सकेको छैन।

‘आज दुई अध्यक्ष भेट हुँदा प्रचण्डले अहिले देखिएका समस्या समाधान गर्न बुधबार सचिवालय बैठक राखौं भनेर प्रस्ताव गर्नुभयो’, अध्यक्ष प्रचण्ड निकट एक नेताले भने, ‘ओली पनि बैठक आयोजना गर्न सकारात्मक देखिनु भएको छ तर, भोली नै सचिवालय बस्छ बस्दैन निश्चित छैन।’

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भोली नै सचिवालय बैठक बस्ने जानकारी आफुलाई नभएको बताए।

‘निश्चित भएको छैन, निश्चित भएपछि भनौंला’, थापाले नेपालखबरसँग भने।

मंगलबार भएको करिब एक घण्टा लामो कुराकानीमा अध्यक्ष प्रचण्डले पार्टीभित्र समस्या देखिएको र सरकारप्रति पनि असन्तुष्टी बढेकाले बैठक आयोजना गरी छफल गरेर समाधान खोज्नु पर्ने बताएका थिए।

‘प्रचण्डले अहिलेको विवाद अब दुई जना अध्यक्षको विषय मात्रै नरहेकाले सचिवालय र स्थायी समिति राखेर छलफल गर्न आग्रह गर्नु भयो’, ती नेताले भने, ‘ओलीले भने आफ्नोविरुद्ध घेराबन्दी गर्न खोजिएको भनेर गुनासो पोख्नु भयो।’

सोमबार कोटेश्वरमा ओली र नेपाल पक्षीय नेताहरूबीच भएको भेटवार्तामा आज मंगलबार नै सचिवालय बैठक आयोजना गर्ने सहमती भएको थियो। आज बैठक नराखिएकाले भोलीको बैठक पनि अनिश्चित बनेको हो।

सचिवालय र स्थायी समिति बैठक आयोजना गर्न ओली तयार नहुनुको कारण उनी दुवै निकायमा अल्पमतमा पर्नु हो। अल्पमतमा परेका बेला प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हटाउन खोजिएपछि ओली बैठक टार्दै पहिला आफु जोगिने रणनीति बनाउन व्यस्त देखिन्छन्।

सोमबार ओलीले माधव नेपालसँग वार्ता गर्न चार जना नेताको समूह नै पठाएका थिए भने बालुवाटारमा आफ्नो पक्षका सांसदहरू भेला गरेर पार्टी विभाजन हुने अवस्थाका लागि समेत तयार रहन निर्देशन सदिएका थिए।

त्यस्तै सोमबार राती नै प्रधानमन्त्री ओलीले प्रधानन्यायाधिशलाई बालुवाटार बोलाएर छलफल गरेका थिए।

‘हिजो सांसदहरूलाई गरेको ब्रिफिङबाट ओली दुवै पद होइन एउटा पद पनि सहज रुपमा छोड्न तयार छैनन् भन्ने देखिन्छ’, नेकपाका अर्का एक नेता भन्छन्, ‘ओली अहिले आफ्नो पद जोगाउन प्रचण्ड र नेपाल पक्षका केही सांसद र नेताहरू आफुतिर तान्ने खेलमा लागेको देखिन्छन्, जुन संभव छैन।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .