राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली सङ्कलन सुरु भएपछि एकै दिन ८० हजारभन्दा बढी मतदाता थपिएका छन्।
निर्वाचन आयोगका अनुसार, राष्ट्रिय परिचयपत्र प्रयोगमा आएपछि नयाँ मतदाताको संख्या उत्साहजनक रूपमा वृद्धि हुन थालेको छ। नयाँ मतदाताको चाप व्यवस्थापन गर्न आयोगले कात्तिक २७ गतेदेखि राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि जैविक विवरण (फोटो तथा औंठाछाप) दिन सकिने व्यवस्था गरेको हो।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार राष्ट्रिय परिचयपत्र प्रयोग गरेर कात्तिक २९ गते राति ९ बजेसम्म ८० हजार ४५६ मतदाता थपिएका छन्। जसमा ५० हजार २१७ पुरूष, ३० हजार २३५ महिला र चार अन्य छन्।
योसँगै निर्वाचन घोषणा भएपछि दर्ता भएका मतदाताको संख्या दुई लाख ८१ हजार १२९ पुगेको छ। आयोगले शनिबार पनि नामावली दर्ता जारी राखेको छ।
आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई लक्षित गरेर आयोगले मतदाता नामावली र अद्यावधिक कार्य सञ्चालन गरिरहेको छ।
Shares

प्रतिक्रिया