निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनका तयारीका सन्दर्भमा राजनीतिक दलहरुसँग दोस्रो चरणको छलफल सुरु गरेको छ।
बिहीबार आयोगको केन्द्रीय कार्यालयमा भएको छलफलमा प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्त डा. जानकीकुमारी तुलाधर र सगुन शमशेर जबरा सहभागी थिए। 
राजनीतिक दलहरूको तर्फबाट नेपाली कांग्रेसकी पुष्पा भुसाल, नेकपा (एमाले) का खगराज अधिकारी, र नेपाल कम्युनिस्ट पार्टीका लिलामणि पोखरेललगायतका नेताहरू उपस्थित थिए।
आयोगले यसअघि पनि आगामी निर्वाचनका तयारीबारे दलहरुसँग प्रारम्भिक छलफल गरेको थियो। अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन मिति तोकेपछि आयोगले दलहरूबीच सहमति र समन्वयका लागि दोस्रो चरणको संवाद अघि बढाएको हो।
तर, विपक्षी दलहरूले सरकार निर्वाचनको वातावरण बनाउन गम्भीर नभएको आरोप लगाउँदै आएका छन्। नेकपा (एमाले)ले संसद् पुनर्स्थापनाको पक्षमा निर्णय गर्दै अदालत जाने तयारीसमेत गरेको छ।
यसअघि बुधबार मात्रै निर्वाचन आयोगले प्रधानमन्त्री सुशीला कार्कीसँग समेत निर्वाचनका तयारीबारे परामर्श गरेको थियो।





Shares

प्रतिक्रिया