महाधिवेशनलाई लिएर नेताहरू विभाजित भएपछि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक लम्बिँदै गएको छ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बिहान साढे ११ बजे बस्दै छ। पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा महाधिवेशनलाई लिएर छलफल जारी रहने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक गत असोज २८ गते शुरू भएको हो।
कांग्रेस नेताहरूबीच विशेष महाधिवेशन वा नियमित महाधिवेशन भन्ने विषयमा सहमति जुट्न सकेको छैन। संस्थापन पक्षका नेताहरूले नियमित महाधिवेशन गर्नुपर्नेमा जोड दिएका छन् भने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षका नेताहरूले विशेष महाधिवेशनका लागि हस्ताक्षर बुझाइसकेका छन्।
त्यस्तै, कांग्रेस नेताहरूबीच प्रतिनिधि सभाको निर्वाचनअघि महाधिवेशन गर्ने कि पछि भन्ने विषयमा पनि विवाद छ। कपितयले प्रतिनिधि सभाको निर्वाचनअघि पार्टीको महाधिवेशन गर्नुपर्ने माग गरेका छन् भने कतिपयले निर्वाचनपछि महाधिवेशन गर्नुपर्ने मत राखेका छन्।
कांग्रेस सभापति शेरबहादुर देउवा उपचारका लागि सिंगापुरमा छन्। कार्यबाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमितिको बैठक सञ्चालन गरिरहेका छन्।
सभापति देउवा देश बाहिर रहँदा कांग्रेस नेताहरूलाई निर्णयमा पुग्न सकस भइरहेको छ। जसले गर्दा केन्द्रीय कार्यसमितिको बैठक लम्बिँदै गएको छ।
कांग्रेस केही नेताहरू संसद् पुनःस्थापनाको पनि माग गरिरहेका छन्। बहुमत नेता भने निर्वाचनमा जानुपर्ने पक्षमा छन्। यसअघि कांग्रेस कार्य सम्पादन समितिको बैठकले निर्वाचनमा जाने निर्णय गरेको थियो।
बुधबारको बैठकमा सहमहामन्त्री महेन्द्र यादव, केन्द्रीय सदस्यहरू विमलेन्द्र निधि, विजयकुमार गच्छदार, डा. शशांक कोइराला, बलबहादुर केसी, नारायण खड्का, रमेश लेखक, कल्पना चौधरी, जीतजंग बस्नेत, सुजाता परियार र श्यामकुमार घिमिरेले धारणा राखेको थिए। आजको बैठकमा थप नेताहरूले आफ्नो धारणा राख्ने कार्यसूची रहेको मुख्यसचिव पौडेलले बताए।
Shares

प्रतिक्रिया