राजनीति


आगामी चुनावका लागि १२५ दल दर्ता

आगामी चुनावका लागि १२५ दल दर्ता

नेपालखबर
कात्तिक २४, २०८२ सोमबार १३:२, काठमाडौँ

प्रतिनिधि सभाको निर्वाचनका लागि १२५ दल दर्ता भएका छन् भने केही दर्ताको प्रक्रियामा रहेका छन्। 

निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र राष्ट्रिय सभाको निर्वाचनलाई लक्षित गरी आयोगका पूर्व पदाधिकारी र पूर्व सचिवसँगको परामर्शका क्रममा यसबारे जानकारी दिएको हो। कान्तिपथस्थित आयोगको केन्द्रीय कार्यालयमा सोमबार आगामी निर्वाचनलाई स्वच्छ, स्वन्तन्त्र, निष्पक्ष, भयरहित र मितव्ययी तुल्याउन विगतका अनुभव प्राप्त गर्ने उद्देश्यले परामर्श गरेको हो। 
 

जेनजी आन्दोलनको भावनाअनुरूप चुनावी अन्तरिम सरकार गठन भई आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुँदै छ। यस्तै १९ सदस्यका लागि आगामी माघ ११ राष्ट्रिय सभाको निर्वाचन हुँदै छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको अध्यक्षतामा भएको परामर्शमा आयुक्तद्वय सगुनशम्शेर जबरा र जानकी तुलाधर तथा पूर्व प्रमुख निर्वाचन आयुक्तहरू सूर्यप्रसाद श्रेष्ठ, नीलकण्ठ उप्रेती, दोलखबहादुर गुरुङ, आयोगका पूर्वसचिवहरू मधु रेग्मी, भरतमणि सुवेदी, सुरेश अधिकारी, रविराज पन्त लगायत सहभागी थिए। 

परामर्श बैठकको प्रारम्भमा आयोगका सचिव महादेव पन्थले यसअघिका निर्वाचन व्यवस्थापनमा भएका अनुभव तथा आइपरेका समस्या र चुनौती समाधानमा खेलिएको भूमिका सम्बन्धी अनुभव आदानप्रदान गर्न कार्यक्रम आयोजना गरिएको बताए। तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न मुलुकभर रहेका आयोगका कार्यालयमा रिक्त पदमा पदपूर्ति गरिसकिएको जानकारी दिँदै उनले निर्वाचन सुरक्षाका लागि सुरक्षा सङ्गठनको बैठक बसिरहेको बताए। 

निर्वाचन व्यवस्थापनमा सुधार र नवीन सोच अघि बढाउन पूर्व पदाधिकारीको ज्ञान र अनुभवन महत्त्वपूर्ण रहेको उनको भनाइ थियो । आगामी निर्वाचन संवैधानिक दायित्व मात्र नभई लोकतान्त्रिक अभ्यासको आधारस्तम्भ पनि भएको उनले बताए।

आयोगमा हालसम्म १२५ दल दर्ता भएका छन्। केही दल दर्ताका प्रक्रियामा रहेको आयोगले जनाएको छ। चालु आर्थिक वर्षमा नयाँ तीन दल दर्ता भएका सचिव पन्थले जानकारी दिए। ्

प्रतिनिधि सभाको निर्वाचनका लागि अनुकूल वातावरण निर्माणका लागि आयोगले खेल्नुपर्ने भूमिका र ध्यान दिनुपर्ने विषय, निर्वाचन आचारसंहितको प्रभावकारी कार्यान्वयनका लागि चाल्नुपर्ने कदम विषयमा छलफलबाट महत्त्वपूर्ण सुझाव प्राप्त हुने जनाइएको छ। (रासस) 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad