रक्षा बम नेतृत्वको नेपाल जेनजी फ्रन्टले देशव्यापी रूपमा संगठन विस्तार थालेको छ।
दल गठनकै स्वरूप दिनेगरी ७७ वटै जिल्ला र सातै प्रदेशका मानिस समेट्न अभियान थालेको संगठन समितिका सदस्य युजन राजभण्डारी बताउँछन्।
राजनीतिक दलको स्वरूप दिने गरी आक्रामक संगठन विस्तारमा लागेको जेनजी फ्रन्टको विवरण भने केही दिनपछि औपचारिक घोषणा गरिने राजभण्डारीले नेपालखबरसँग बताए।
‘नेपाल जेनजी फ्रन्टमा ७ वटै प्रदेशबाट अनौपचारिक रूपमा संगठनका साथीहरूले काम गरिरहनु भएको छ,’ उनले भने, ‘एकदुई दिनमा उनीहरूको विवरण सार्वजनिक गर्नेछौँ।’
युजनले थपे, ‘आन्दोलनकारीहरूलाई एक ठाउँमा ल्याउने प्रयास भइरहेको छ। फ्रन्टमा बसेर काम गर्ने साथीहरूले विभिन्न प्रदेशका साथीहरूलाई जोडिराख्नु भएको छ। यति जिल्ला नै भनेर अहिले नतोकौँ, हामी औपचारिक घोषणा नै गर्छौँ।’
संयोजक रक्षा बम अहिले युवाहरू जोडिने क्रममा रहेको बताउँछिन्। सबै जना जोडिइसकेपछि सबै मिलेर के–के काम गर्न सकिन्छ, त्यही अनुसार निर्णय गर्ने उनको भनाइ छ।
रक्षा भन्छिन्, ‘हामी साथीहरूलाई आह्वान गर्दैछौँ। साथीहरू हामीसँग जोडिँदै हुनुहुन्छ। अहिले हामी विस्तार गर्ने क्रममा भन्दा पनि जोडिने क्रममा नै छौँ।’
भदौ २३ र २४ गतेको प्रदर्शनपछि फागुन २१ भित्र चुनाव गर्नेगरी अन्तरिम सरकार बनेको छ। यही मेसोमा नयाँ दलहरू खुल्ने क्रम पनि चलिरहेको छ। जेनजी प्रतिनिधिहरूलाई नयाँ दल खोलेर निर्वाचनमा भाग लिन दबाब पनि छ।
रक्षा बम लगायतका प्रतिनिधिले अभियन्ता, नागरिक समाजका अगुवा, चर्चित व्यक्तित्व लगायतसँग छलफल गरिरहेका छन्। ऊर्जामन्त्री कुलमान घिसिङको नेतृत्वमा खुल्ने नयाँ राजनीतिक दलसँग मिलेर जानेबारे छलफल भएको उनीहरू बताउँछन्। संवादलाई जारी राख्दै फ्रन्ट भने संगठन विस्तारमा लागेको छ।
छरिएका जेनजीका समूहहरूलाई एकै ठाउँमा उभ्याउने प्रयासमा आफूहरू केन्द्रित भएको बम बताउँछिन्।
आन्दोलनलाई संस्थागत गर्नको लागि के गर्नु पर्छ भनेर काम गरिरहेको उनले बताइन्।
उनी भन्छिन्, ‘सबै जेनजी समूहका जेनजी प्रतिनिधिहरू, घाइते साथीहरू, सहिद परिवारबाट प्रतिनिधि मिलेर आन्दोलनलाई संस्थागत कसरी गर्ने भन्ने कुरामा हामी जोड दिइरहेका छौँ।’

यद्यपि, युजन भने यो फ्रन्ट राजनीतिक रूपमा अगाडि बढ्ने वा नबढ्ने भन्ने कुरा भविष्यमा नै थाहा हुने बताउँछन्।
अहिले धेरैतिर छरिएका जेनजीहरूलाई एकै ठाउँमा ल्याउन सकिन्छ कि भन्ने प्रयासमा लागेको युजनको भनाइ छ।
उनले भने, ‘संविधानको आधारभूत पक्षहरूलाई मान्ने साथीहरूलाई यसप्रति विमति भए पनि अहिले नै संविधानमाथि प्रश्न उठाउने भन्दा पनि प्रतिनिधि सभाको चुनावपछि आफ्ना माग सम्बोधन गर्नतिर लाग्ने गरी जोडिरहेका छौँ।’
सामाजिक सञ्जालको माध्यमबाट पनि फ्रन्टमा जोडिनको लागि आह्वान गर्दै आफूहरूले फाराम खोलेको युजनले बताए। उक्त फाराममा फ्रन्टका उद्देश्यका बारे बताइएको छ। जसमा व्यक्तिले आफ्नो व्यक्तिगत विवरण भरेर सदस्य, सहानुभूति दिने व्यक्ति वा सल्लाहकारको केको रूपमा आफू उक्त फ्रन्टमा जोडिन चाहेको हो, त्यसरी नै जोडिन सक्ने राजभण्डारीले बताए।
हालसम्म आफूहरूले दल नै गठन गर्ने या अर्को कुनै दलमा मिसिने भन्ने कुरामा कुनै टुङ्गो नभएको राजभण्डारीको भनाइ छ।
भन्छन्, ‘यो एउटा फ्रन्ट हो, जुन राजनीतिक रूपमा पनि अगाडि बढ्न सक्छ। नागरिक समाजको रूपमा पनि अगाडि बढ्न सक्छ या यो आन्दोलनलाई नै अझ बढाएर आन्दोलनकारी कै रूपमा पनि अगाडि बढ्न सक्छ।’
तीन वटै पक्षमा आफूहरू खुल्ला रहेको उनले बताए।
तर, रक्षा भने हाल फ्रन्टलाई राजनीतिक रूपमा दल बनाएर अगाडि लग्ने योजना नभएको बताउँछिन्।
उनी भन्छिन्, ‘यो फ्रन्ट राजनीतिक रूपमा जाने प्लाटफर्म हैन। फ्रन्टका अन्य साथीहरूको राजनीतिक इच्छा छ भने जान पनि पाउनु हुन्छ।’
आफू पनि राजनीतिक रूपमा अगाडि बढ्ने पक्का नभएको रक्षा बताउँछिन्।
Shares

प्रतिक्रिया