नेकपा माओवादी केन्द्रलगायत वाम दलहरूको एकतामा सामेल नभएको भन्दै कारबाही गरेपछि तत्कालीन नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष माधव नेपालविरुद्ध कटाक्ष गरेकी छन्।
यही कात्तिक १९ गते माओवादी केन्द्र, एकीकृत समाजवादीसहित १० वाम घटकबीच एकता गरी नेपाली कम्युनिस्ट पार्टी गठन गरिएको छ। जसमा प्रचण्ड संयोजक र नेपाल सहसंयोजक छन्।
तर यसमा सहभागी नभएको भन्दै महासचिव घनश्याम भुसालसहित नेताहरू रामकुमारी झाँक्री, दामोदर अर्याल, नन्दलाल बन्जाडे, धर्मराज निरौला र कृष्णकुमार श्रेष्ठ (किसान) लाई अध्यक्ष नेपालले पार्टीबाट निष्कासन गरेका थिए।
तर उक्त कारबाही १० वाम दलबीच एकता भइसकेपछि गरिएको भन्दै माधव नेपालको आलोचना भइरहेको छ। यद्यपि तत्कालीन एकीकृत समाजवादीले कात्तिक १९ गते नै उनीहरूलाई कारबाही गरेको पत्र अहिले सार्वजनिक गरेको छ।
यसैबीच नेता प्रकाश ज्वालाले १० वाम दलबीच एकता हुनुअघि नै उनीहरूलाई कारबाही गरिएको दाबी गरेका छन्।
‘कात्तिक १९ गते बिहान ९ बजे बसेको हाम्रो सचिवालय बैठकले नै एकता प्रक्रियामा सहभागी नहुने नेताहरूमाथि कारबाहीको निर्णय गरेको हो’, उनले शुक्रबार बिहान नेपालखबरसँग भने, ‘कार्यालयले पत्र सार्वजनिक गर्न ढिलो गरेको हुन सक्छ। तर, कारबाहीको निर्णय १९ गते बिहानै भएको हो। पार्टी एकता त दिउँसो भएको हो नि!’
यही कारबाहीप्रति व्यंग गर्दै झाँक्रीले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘प्रिय कमरेड माधव अभिवादन! आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड? केही अर्थ छ र अब पनि कारबाहीको? लोकले के भन्ला भन्ने पनि लागेन र? तपाईं सबै कालखण्ड गरेर १९ वर्ष पार्टी प्रमुख बाँकी समय पार्टी प्रमुखलाई चलाउने र नियन्त्रण गर्ने जिम्मेदारीमा बसेर काम गर्नुभयो। यो अन्तिम घटनाले तपाईंको इतिहासलाई फेरि बल्झायो। बिर्सेकाहरूले सबै घटना स्मृतिमा लिने भए।’
उनले अगाडि लेखेकी छन्, ‘जिन्दगीमा के लानु छ कमरेड? समाज र देशको लागि जीवन/जवानी अर्पण गरेको व्यक्तिले। लाने त यति त हो- एउटा मिठो वा तितो स्मृति, चिया पसलमा पुग्दा बोल्ने दुईजना मान्छे। आफ्नै मलामी त कसले पो देख्छ र? हार्दिक धन्यवाद यो अन्तिम कर्मको लागि। बाँकी जीवनको सुखद होस्, परिवारमा शान्ति र सुस्वास्थ्यको हार्दिक शुभकामना। तपाई जहाँ रहे पनि हाम्रो अभिभावको हो। मैले यसरी सधैँ सम्झनेछु।’
रामकुमारीले यही कात्तिक १९ गते पत्रकार सम्मेलन गरी एकीकृत समाजवादी त्यागेको घोषणा गरेकी छन् भने एमालेमा फर्किने तयारीमा छिन्। यस क्रममा उनले बिहीबार मात्र भक्तपुरको गुन्डु पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेकी छन्।
Shares

प्रतिक्रिया