दुई दिनअघि मात्रै गठन भएको ‘नेपाली कम्युनिस्ट पार्टी’का सह संयोजक माधवकुमार नेपालले पार्टी निर्णय नमानेको भन्दै तत्कालीन नेकपा एकीकृत समाजवादीका ६ नेतामाथि कारबाही गरेको विषयलाई लिएर यतिबेला विभिन्न टिकाटिप्पणी भइरहेको छ।
माओवादी, एकीकृत समाजवादीसहित १० वाम घटकबीच पार्टी एकता भएर यही कात्तिक १९ गते नेपाली कम्युनिस्ट पार्टी बनेको थियो।
त्यो पार्टी एकताप्रति विमती जनाउँदै एकीकृत समाजवादीका केही नेता सो एकता प्रक्रियामा सहभागी भएका थिएनन्।
एकता प्रक्रियामा सहभागी नभएका नेताहरू धनश्याम भुसाल, रामकुमारी झाँक्री, दामोदर अर्याल, नन्दलाल बन्जाडे, धर्मराज निरौला र कृष्णकुमार श्रेष्ठ (किसान) लाई सो पार्टीका तत्कालिन अध्यक्ष नेपालले पार्टी सदस्यसमेत नरहनेगरि कारबाही गरेका थिए।
तर, त्यो कारबाही १० वाम दलबीचको एकता घोषणापछि गरिएको भन्दै नेता नेपालको आलोचना भइरहेको बेला सो पार्टीका नेता प्रकाश ज्वालाले त्यस बारेमा प्रष्टीकरण दिएका छन्।
उनले १० वाम दलबीच एकता हुनुअघि नै एकता प्रक्रियामा सहभागी नहुने नेताहरूमाथि कारबाहीको निर्णय गरिएको दाबी गरे। कारबाहीको निर्णय सार्वजनिक गर्न ढिलाई भएको हुन सक्ने भन्दै उनले पार्टी एकतापछि कारबाही गरिएको भनेर गरिएको प्रचार गलत भएको बताए।
‘कात्तिक १९ गते बिहान नौ बजे बसेको हाम्रो सचिवालय बैठकले नै एकता प्रक्रियामा सहभागी नहुने नेताहरूमाथि कारबाहीको निर्णय गरेको हो,’ त्यस विषयमा प्रष्टीकरण दिँदै उनले नेपालखबरसँग भने, ‘कार्यालयले पत्र सार्वजनिक गर्न ढिलो गरेको हुन सक्छ। तर, कारबाहीको निर्णय १९ गते बिहानै भएको हो। पार्टी एकता त दिउँसो भएको हो नि।’
उनले पार्टी एकतापछि पनि एकीकृत समाजवादी पार्टीले नेताहरूलाई कारबाही गर्याे भनेर गरिएको प्रचार गलत भएको बताए।
उनले कात्तिक १९ गते बिहान प्रचण्ड निवासमा धनश्याम भुसालसहितका नेताको उपस्थितिका दुई दलका नेताहरूबीच वार्ता भएको र त्यसलगत्तै एकीकृत समाजवादीको शान्तिनगरस्थित उपत्यका पार्टी कार्यालयमा सचिवालय बैठक बसेर एकता प्रक्रियामा सहभागी नहुने नेताहरुमाथि कारबाहीको निर्णय भएको उनले जानकारी दिए।
‘बिहान ९ बजे सचिवालय बैठक, ११ बजे वार्ता समितिको बैठक, १ बजे पार्टी एकता कार्यक्रम भएको हो,’ उनले भने, ‘म पनि वार्तातिर बिजी भएँ। कार्यालयले कारबाहीकाे पत्र तयार गरेर सार्वजनिक गर्न ढिलो गरेको हुनसक्छ। तर निर्णय बिहानै भएकाे हाे।’
हेर्नुहोस् एकीकृत समाजवादीका ६ नेतामाथि कारबाही गरिएको पत्र

Shares

प्रतिक्रिया