राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा धवलशमशेर राणाले माहधिवेशन मिति तोक्न र विभिन्न नेतालाई गरिएको निलम्बन तथा निष्कासन फिर्ता गर्न माग गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र लेखेका छन्।
चारबुँदे माग राखेर अध्यक्ष लिङ्देनलाई सम्बोधन गरी लेखिएको पत्र महामन्त्री राणाले आज बिहीबार राप्रपाको केन्द्रीय कार्यालयमा बुझाएका हुन्।
'पार्टीभित्रै उपाध्यक्ष मुकुन्दश्याम गिरीलगायत अन्य नेताहरूलाई स्पष्टीकरणको मौकासमेत नदिई, फेसबुकमा जानकारी हुने गरी विधानविपरीत जिम्मेवारीबाट मुक्त गरिएको छ। यस्ता स्वेच्छाचारी कारबाहीको लामो सूची बनिसकेको छ', पत्रमा भनिएको छ, 'विधानको सामूहिक भावनाविपरीत पार्टीभित्र एक व्यक्तिमा निर्णय प्रक्रिया सीमित छ। पार्टीको निर्णयविनै संघीय गणतन्त्र सुदृढ गर्न विपरीत विचार बोक्ने सरकारमा सामेल हुँदा पार्टीपंक्ति वैचारिक विश्वासघातको मारमा छ। गुटगत जिम्मेवारी बाँटफाँट र पजनीबाट पार्टी संगठन पक्षाघातको सिकार बनाइएको छ। फरक मत, आलोचनात्मक चेत निमिट्यान्न पार्ने, नेता कार्यकर्तामाथि दुर्व्यवहार, अपमान, धम्की र निलम्बनका कार्य पार्टीमा दैनिकी बनेको छ। समष्टिमा महाधिवेशनको मार्गनिर्देश र नीतिबाट पार्टी चुकेको छ। यी विषयमा अब पनि मौनता साँधे पार्टीकै दीर्घायुको लागि घातक हुनेछ।'
महामन्त्री राणाले तत्काल सुधारका लागि पत्रमा प्रस्तुत गरेको प्रस्ताव र कार्यसूची यस्तो छ:
१. महाधिवेशनको मिति तोक्ने।
२. विधानविपरीत भएका निलम्बन, निष्कासन र कारबाहीसम्बन्धी निर्णयहरू फिर्ता गर्ने ।
३. निष्पक्ष र सरल रूपमा महाधिवेशन सम्पन्न गर्न निर्वाचन समिति र पर्यवेक्षकको टोलीमा सन्तुलन कायम गर्ने, सदस्यहरू थप्ने।
४. प्रभावकारी पार्टी सञ्चालनका लागि दुई पूर्वअध्यक्षसहितको विवाद समाधान समिति गठन गर्ने।
पत्रमा अगाडि भनिएको छ, 'अहिलेलाई हामी यति भन्छौँ, पार्टीका हामी सचेत र समर्पित कार्यकर्ता, पार्टीको गौरव, मूल विचार र भविष्य रक्षाका लागि अघि सरेका छौँ। पार्टीलाई बलियो बनाउने, एकता र आन्तरिक प्रजातन्त्र सुदृढ गर्ने हाम्रो मूल ध्येय हो, निरन्तर प्रयास हो। पार्टीको आदर्श र इतिहास, देश र जनताप्रतिको उत्तरदायित्वलाई मनन गर्दै पार्टीभित्र विद्यमान समस्या, विचलन र असन्तुलनलाई यथाशीघ्र सुधार गर्न हाम्रो अनुरोधलाई अवसरका रूपमा लिन आग्रह गर्दर्छौं।'
यसअघि राणाले गत मंगलबार आफूनिकट पदाधिकारी तथा सदस्यहरूको छुट्टै भेला गरेका थिए।


Shares

प्रतिक्रिया