राजनीति


महन्थको व्यंग्य: मन्त्रीले खुट्टा नभाँचे पनि औद्योगिक क्षेत्र ठिक ढंगले हिँड्न सकेको छैन

महन्थको व्यंग्य: मन्त्रीले खुट्टा नभाँचे पनि औद्योगिक क्षेत्र ठिक ढंगले हिँड्न सकेको छैन

नेपालखबर
असार ४, २०८३ बिहिबार १७:५, काठमाडौँ

जनता समाजवादी पार्टी, नेपालका सांसद महन्थ ठाकुरले सरकारको उच्च ओहोदामा रहेका व्यक्तिहरुको गतिविधिले औद्योगिक क्षेत्र त्रसित भएको टिप्पणी गरेका छन्।

बिहीबार राष्ट्रिय सभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्। उनले सरकारका मन्त्रीले निर्माण व्यवसायीको हातखुट्टा भाँच्ने धम्की दिएको उल्लेख गर्दै हातखुट्टा नभाँचेपनि औद्योगिक क्षेत्र ठिक ढंगले हिँड्न नसकेको व्यंगात्मक टिप्पणी गरे।

ठाकुरले उद्योगी–व्यवसायीहरू लगातार पलायन भइरहेको उल्ललेख गर्दै नाफा आर्जन गर्न नसक्ने अवस्था भए उद्योग सञ्चालन गर्नुको औचित्य नहुने तर्क गरे। यसतर्फ सरकारको ध्यान जानुपर्नेमा उनको जोड छ। 

उनले भने, ‘सरकारको उच्च ओहोदामा बसेका व्यक्तिहरुले हातखुट्टा भाँच्ने काममा हुनुहुन्छ। तपाईंहरुको अनुहार हेर्दा तपाईंहरु सबै जना नवजवान हुनुहुन्छ, अलिकति जोश त आईहाल्छ। हातखुट्टा नभाँचेपनि हामी त सही ढंगले हिँड्न सकिरहेका छैनौँ। उद्योगी व्यवासायीहरु सबै पलायन भइराख्नुभएको छ नि। यदि नाफा नै कमाउँदैन भने किन उद्योग चलाएर बस्छ?’ 

उनले लोकतन्त्रका लागि संघर्ष गरेका नेताहरू कोही जेल जाने अवस्थामा पुगेको र कोही गम्भीर रोगबाट पीडित रहेको उल्लेख गर्दै वर्तमान अवस्था लोकतान्त्रिक आन्दोलनको लक्ष्यअनुरूप नभएको टिप्पणी समेत गरे।

नेता ठाकुरले भने, ‘मुलुकमा लोकतन्त्र ल्याउनका लागि पुराना नेताहरुको ठुलो योगदान छ। तर कोही जेल जाने अवस्था आयो, कोहीलाई ठुलो रोगले सताएको छ। तर यो व्यवस्था उहाँहरुले यही देख्नका लागि ल्याएका हुन् त? त्यसकारण हामीले यो विषयमा ध्यान दिनैपर्छ।’

ठाकुरले निजी क्षेत्रको मनोबल खस्किएको भन्दै सरकारले लगानीमैत्री वातावरण निर्माण गर्न नसके मुलुक थप आर्थिक विचलनमा जानसक्ने टिप्पणी पनि गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad