पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिमा दृश्य र अदृश्य शक्तिहरू सक्रिय रहने भएकाले इच्छाअनुसार सबै काम गर्न नसकिने बताएका छन्।
बिहीबार काठमाडौँमा आयोजित जेनजी अगुवाहरूसँगको अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले राजनीतिमा आन्तरिक र बाह्य शक्तिहरूको प्रभावसँग सन्तुलन मिलाउँदै अघि बढ्नुपर्ने बताए।
भट्टराईले भने, ‘रामराज्य ल्याइदिउँ भन्ने चाहना त सबैको हुन्छ, तर भन्नेबित्तिकै त्यो सम्भव हुँदैन। हात्तीलाई कुस्ती खेलेर होइन, जुक्तिले नियन्त्रण गर्नुपर्छ।’
उनका अनुसार अबको लोकतन्त्र केवल भोट हाल्ने प्रणाली नभई समावेशी र सहभागीयुक्त हुनुपर्छ। ‘वंशानुगत राजा हुने व्यवस्था अब सम्भव छैन,’ उनले भने, ‘नेपालको संविधानले वर्ग, जात, क्षेत्र र लैङ्गिक विभेद अन्त्य गर्ने बाटो देखाएको छ, त्यसैअनुसार अघि बढ्नुपर्छ।’
कार्यक्रममा जेन–जी अगुवा अमित खनालले राजनीतिक दलहरू अझै पुराना एजेन्डामा अड्किएको टिप्पणी गरे भने माजिद अन्सारीले आन्दोलनका क्रममा सुरक्षाकर्मीको भूमिकामाथि प्रश्न उठाउँदै मधेसी, दलित र जनजाति समुदायका व्यक्तिमाथि मात्र कारबाही हुने प्रवृत्ति रोक्नुपर्ने बताए।
Shares

प्रतिक्रिया