राजनीति


राजदूत चन्द्रकुमार घिमिरेले दिए राजीनामा

राजदूत चन्द्रकुमार घिमिरेले दिए राजीनामा

नेपालखबर
कात्तिक २०, २०८२ बिहिबार १७:४, काठमाडौँ

राजदूत चन्द्रकुमार घिमिरेले राजीनामा दिएका छन्। सरकारले ११ देशका राजदूतलाई परराष्ट्र मन्त्रालयमा उपस्थित हुन निर्देशन दिएलगत्तै संयुक्त अधिराज्य (यूके) का लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले पदबाट राजीनामा दिएका हुन्।  

उनले आफ्नो फेसबुकमा बुधबार यूकेलाई बिदा गरेको र यसक्रममा आफूप्रति देखाएको सम्मानप्रति आभार रहेको लेखेका छन्।   

सरकारले सोमबारमात्रै ११ मुलुकका राजदूतावासहरूमा पत्राचार गरेर राजदूत फिर्ता हुन भनेको थियो। चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, रसिया, साउदी अरब, स्पेन, संयुक्त अधिराज्य , जापान र संयुक्त राज्य अमेरिकाका राजदूतलाई सरकारले परराष्ट्रमन्त्रालयमै कामकाज गर्ने गरी फिर्ता हुन भनेको थियो। 

'महामहिमज्यूलाई अर्काे व्यवस्था नभएसम्मका लागि परराष्ट्र मन्त्रालयमा रही कामकाज गर्नेगरी नेपाल बोलाउने मिति २०८२।७।१७ मा निर्णय (सम्माननीय प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री स्तरीय भएको बेहोरा जानकारी एवं आवश्यक कार्यार्थ अनुरोध छ,' पत्रमा भनिएको थियो।

उनीहरूलाई कात्तिक २० गतेभित्र मन्त्रालयमा सम्पर्क गर्न पनि भनिएको थियो। 'नेपाल आउनका लागि महामहिमज्यूको नाममा यसअघि जारी भएको हवाई टिकट नै प्रयोग गरी मिति २०८२ कार्तिक २० गतेभित्र मन्त्रालयमा सम्पर्क गर्न आइपुग्नु हुनसमेत सोही निर्णयानुसार सादर अनुरोध छ,' परराष्ट्र मन्त्रालयको सामान्य प्रशासन महाशाखा प्रमुख सुरेन्द्रकुमार यादवले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ।  

पत्रमा राजदूतहरू नेपाल फर्केपछि सम्बन्धित नियोगमा उपनियोग प्रमुखले कार्यवाहक राजदूत भई कामकाज गर्ने सम्बन्धी निर्णय गर्न पनि भनिएको थियो। 

सर्वाेच्च अदालतको संयुक्त इजलासले आइतबारमात्र राजदूतहरू फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सो आदेशको विषयमा सोमबार मन्त्रिपरिषद्‌मा छलफल हुँदा अन्तरिम आदेश बमोजिम थमौतीको पत्र नपठाउने अनौपचारिक निर्णय गरिएको थियो। 

तर, सर्वाेच्चको अन्तरिम आदेशको हवाला र ‘सी लिंक’ नामक ट्राभल्स एजेन्सीले काटिसकिएका टिकट रद्द गर्ने वा नगर्ने भन्दै पठाएका पत्रको सम्बन्धमा सम्बन्धित राजदूतहरूले परराष्ट्रलाई पत्राचार गरेपछि सरकारले काटिएको टिकट अनुसार नै फिर्ता हुन सोमबार साँझ निर्देशन दिइएको थियो। 

सर्वोच्च अदालतको अन्तरिम आदेश औपचारिक रुपमा नपुगेको मौकामा सरकारले यो निर्णय गरेको थियो।

११ राजदूतलाई पुरानै टिकटमा फिर्ता हुन परराष्ट्रले पठायो पत्र 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad