राजनीति


फागुनमा चुनाव हुने निश्चित भए महाधिवेशन वैशाखमा गरौँ: एनपी साउद

फागुनमा चुनाव हुने निश्चित भए महाधिवेशन वैशाखमा गरौँ: एनपी साउद

एनपी साउद। फाइल तस्बिर


नेपालखबर
कात्तिक २०, २०८२ बिहिबार १५:२९, काठमाडौँ

नेपाली कांग्रेसका नेता एनपी साउदले फागुनमा चुनाव हुने सुनिश्चित भए वैशाखमा नै १५ औं महाधिवेशन गर्न उपयुुक्त हुने बताएका छन्।

केन्द्रीय समितिको जारी बैठकमा धारणा राख्दै नेता साउदले चुनावको मिति सरेर वैशाखमा हुने अवस्था बन्यो भने फागुनमा महाधिवेशन गर्ने विकल्प बताएका छन्।

‘निर्वाचनभन्दा अगाडि वा पछाडि महाधिवेशन गर्नुपर्ने भन्दा पनि फागुनमा निर्वाचन हुने सुनिशिचत भयो भने वैशाख र वैशाखमा निर्वाचन हुने भयो भने फागुनमै महाधिवेशन गर्न उपयुक्त हुन्छ,’ साउदले बैठकमा भने।

मंसिरको समयसीमा भित्र अधिवेशन गर्न सक्ने तयारी र अवस्था नभएको बताउँदै साउदले भने, ‘फागुन २१ गते निर्वाचन तोकिएको छ। हाम्रो पार्टीले निर्वाचनमा जान्छौँ भन्ने मौखिक प्रतिबद्धता गरे पनि केन्द्रीय समितिले आजको दिनसम्म ठोस निर्णयको रुपमा त्यसलाई अंगिकार गरिसकेको छैन।’

महाधिवेशन जहिले भए पनि चुनाव र महाधिवेशन दुवै विषयमा  पार्टीका सम्पूर्ण संरचना चलायमान हुनुपर्ने बताए।

साउदले साढे आठ लाख बढी संख्यामा रहेका क्रियाशील सदस्यता नवीकरण हुनुपर्ने र पार्टीमा घट्दै गएको युवा सहभागितालाई नयाँ क्रियाशील सदस्यता वितरण र विस्तार  गर्दै अगाडि बढ्नुपर्ने विचार राखे।

नेता साउदले जेनजी आन्दोलन भएका विश्वका उदाहरण समेत बैठकमा जानकारी गराएका थिए। जेनजी आन्दोलन भएर सरकार परिवर्तन भएको तर संस्थागत हुन नसकेको उनले बताए।

‘बंगलादेश सरकारको पतनपछि अतिवादी धार्मिक शक्तिहरु पुनरोदयको क्रममा छन् र त्यहा जेनजीहरु हराएका छन्। श्रीलंकामा एकहप्ते जेनजी विद्रोहपछि सत्ता परिवर्तन भयो। निर्वाचन भयो र वामपन्थी झुकाव राख्ने नयाँ सरकार निर्माण पछि जेनजीहरुको आन्दोलन टुंगिएको छ,’ थप देशको उदाहरण दिँदै साउदले भने, ‘मेडागास्करमा जेनजी आन्दोलनपछि एक जना कर्णेलले सत्ता नियन्त्रणमा लिएका छन्। इस्ट– टिमोरमा सुरु भएको जेनजी आन्दोलन कुनै परिणाम नदिएर निस्तेज भएको छ। इन्डानेसिया, फिलिपिन्समा जेनजी आन्दोलन अहिले पनि संघर्षकै चरणमा छन्। विश्वमा जेनजीहरुले आफ्नो आन्दोलन पछि संस्थागत भएर राज्य संरचना सञ्चालन गरेको अनुभव कतै देखिँदैन।’

जेनजी आन्दोलनले कांग्रेसलाई युवासम्म जाने, उनीहरूको मुद्दाहरू सम्बोधन गर्ने र सहभागितालाई पार्टीका तह र तप्कामा  सुनिश्चित गर्न अवसर प्रदान गरेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad