राजनीति


कतारमा राष्ट्रपतिले भनेः हामीले जेनजी आन्दोलनबाट मुलुकलाई सुरक्षित अवतरण गराएका छौँ

कतारमा राष्ट्रपतिले भनेः हामीले जेनजी आन्दोलनबाट मुलुकलाई सुरक्षित अवतरण गराएका छौँ

नेपालखबर
कात्तिक १८, २०८२ मंगलबार १६:५९, कतार (दोहा)

राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले आज यहाँ शिष्टाचार भेटवार्ता गरेका छन्।

कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारको राजधानी दोहामा मङ्गलबारदेखि शुरु भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन आएका राष्ट्रपति पौडेल र  संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसबीच आज यहाँ शीष्टाचार भेटवार्ता भएको हो। 

सो अवसरमा राष्ट्रपति पौडेलले कोपनहेगन प्रतिबद्धताहरूलाई कार्यान्वयन गर्न र सामाजिक विकासलाई तीव्रता दिन संयुक्त राष्ट्रसंघका महासचिवले खेल्दै आएको भूमिकाको प्रशंसा गर्दै शान्ति, सामाजिक न्याय र दिगो विकासका साझा लक्ष्य प्राप्तिका लागि राष्ट्र संघसँग निकट रही काम गर्न नेपाल तयार छ भने। 

‘गत सेप्टेम्बरमा भएको जेन–जी आन्दोलनपछि नेपालमा नयाँ सरकार गठन भएको छ, यस आन्दोलनले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन व्यवस्थाको माग गरेको छ, युवाहरूको आकांक्षा पूरा गर्न हामी प्रतिबद्ध छौं’, भेटमा राष्ट्रपति पौडेलको भनाई उद्यृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले बताए।

राष्ट्रपति पौडेलले प्रतिनिधिसभा विघटन भएर आगामी फागुन २१ मा आम निर्वाचनको घोषणा गरिएको तथा स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गर्न नेपाल क्रियाशील रहेको उल्लेख गर्दै यस निर्वाचनले नेपालमा राजनीतिक निकास दिनुका साथै सुशासन, विकास र समृद्धिको मात्रा सुनिश्चित गर्ने विश्वास लिएको बताए।

‘हामीले जेनजी आन्दोलनबाट मुलुकलाई सुरक्षित अवतरण गराएका छौँ, नेपालको संविधान र लोकतन्त्रको रक्षा गरेका छौं, राष्ट्रपति पौडेलले भने। 

कार्बन उत्सर्जन नगण्य रूपमा गरेपनि नेपालले जलवायु परिवर्तनका प्रतिकूल प्रभावहरू असमानुपातिक र गम्भीर रूपमा भोगिरहेको बताउँदै राष्ट्रपति पौडेलले हामी जलवायु परिवर्तनका असरहरूको न्यूनीकरण र अनुकूलनका लागि अन्तर्राष्ट्रिय समुदायको सहयोगको अपेक्षा गर्छौँ भने। 

‘सगरमाथा आधार शिविरको भ्रमणका क्रममा तपाईंले अवलोकन गर्नुभएजस्तै हाम्रा सेता हिमालहरू काला पहाडमा परिवर्तन भइरहेका छन्, यी हिमालहरू एसियाको पानीको स्रोत पनि हुन्, तर तीव्र गतिमा हिउ पग्लँदै जाँदा समग्र पारिस्थिति प्रणाली र तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने मानिसहरूको जीविकोपार्जनमा जोखिम सिर्जना भइरहेको छ’, उनले भने।

गरिबी निवारण, रोजगारी सिर्जना र सामाजिक समावेशिताको सुनिश्चितताजस्ता चुनौती सम्बोधन गर्नुपर्ने खाँचो रहेको भन्दै यो सम्मेलनले सामाजिक विकासप्रतिको विश्वव्यापी प्रतिबद्धतालाई पुनः दोहोर्‍याउने र दिगो विकास एजेन्डा २०३० को कार्यान्वयनलाई थप गति दिने उहाँले विश्वास व्यक्त गरे।

राष्ट्रपति पौडेलले सामाजिक विकास, समावेशीकरण र गरिबी निवारण नेपालका प्रमुख प्राथमिकताहरू हुन् भन्दै नेपालले गरिबी न्यूनीकरण, मानव विकास, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको पहुँचजस्ता क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको छ भने। 

‘संयुक्त राष्ट्र संघीय शान्ति स्थापना कार्यमा निरन्तर योगदान पुर्‍याउन पाउँदा हामी खुसी छौं, यसबाट अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाप्रति नेपालको निरन्तर प्रतिबद्धता झल्कन्छ,  नेपाली शान्ति सेनाले पुर्‍याउँदै आएको योगदानको उपयुक्त मूल्याङ्कन गर्नुभएकोमा धन्यवाद दिन चाहन्छु’, उनले भने।

सो अवसरमा संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसले जलवायु परिवर्तनको मार खेपिरहेका नेपालजस्ता मुलुकहरूका लागि जलवायु अनुकूलनका लागि विकसित देशहरूबाट सहयोग उपलब्ध गराउन राष्ट्र संघ लागिरहेको बताउँदै  कार्वन उत्सर्जन घटाउनेतर्फ पनि आफू लागिरहेको जानकारी दिनुभएको प्रेस सल्लाहकार पोखरेलले बताए।

उनले नेपालले मानव अधिकारका पक्षमा राम्रो गरिरहेको पनि बताए। उनले नेपालको पछिल्लो घटनाका सन्दर्भमा नेपालले आफ्नो समस्या आफैं समाधान गर्न नेपालका संस्थाहरू सक्षम रहेकोमा राष्ट्र संघ पूर्ण विश्वस्त रहेको पनि बताए। 

राष्ट्रपति  पौडेल ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार यहाँ आएका हुन्। यहाँ आउँदा राष्ट्रपति पौडेललाई दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका विदेश मन्त्रालय र त्यहाँस्थित नेपाली राजदूतावासका उच्चपदस्थ पदाधिकारीले स्वागत गरेका थिए। राष्ट्रपति पौडेल सम्मेलनमा सहभागी भएर कात्तिक २० गते स्वदेश फर्कने कार्यक्रम छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad