नेकपा माओवादीबाट अलग भएर छुट्टै अभियान घोषणा गरेका जनार्दन शर्माले नेकपा माओवादीको महाधिवेशन आयोजक समितिलाई पार्टीहरूसँग एकता गर्ने अधिकार नभएको बताएका छन्।
मंगलबार ललितपुरको बखुन्डोलमा पत्रकार सम्मेलन गर्दै प्रतिस्पर्धा गर्न नदिने र नयाँ नेतृत्व स्थापित हुुन नदिन पार्टी एकताको नाटक गरेको समेत आरोप लगाए।
‘अहिले माओवादीको महाधिवेशन आयोजक समिति बनेको थियो, आयोजक समितिले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर जुन एकताको नाटक गरेको छ,’ शर्माले भने, ‘त्यसको अधिकार क्षेत्रभित्र नै छैन। त्यो आयोजक समितिले पाउँदै पाउँदैन। आयोजक समितिले त महाधिवेशन सम्पन्न गर्ने भनेको थियो।’
‘महाधिवेशन सम्पन्न गर्न लाग्नुको सट्टा अनेक गरेर टार्ने, पार्टीभित्र विधि, पद्धतिलाई स्थापित गर्न नदिने, प्रतिस्पर्धाबाट नेतृत्व निर्माण गर्न नदिने उदेश्यबाट प्रेरित भएर आज जुन खालको एकता गर्ने भनेको छ, त्यसले न कुनै निकास दिने छ,’ उनले थपे।
उनले आजैबाट माओवादी केन्द्र लगायतमा भद्रगोल सुरु भइसकेको समेत दाबी गरे। ‘आजैबाट त्यहाँ भद्रगोल सुरु भैसक्यो, हजरौँका केन्द्रीय कमिटी बन्दै छन्,’ शर्माले भने, ‘सयौँको सचिवालय बन्दै छन्। त्यसको कुनै अर्थ हुने छैन।’
Shares

प्रतिक्रिया