राजनीति


कांग्रेस विवाद: १५औं महाधिवेशनको आ-आफ्नै तालिका पेस गर्दै दुई समूह

कांग्रेस विवाद: १५औं महाधिवेशनको आ-आफ्नै तालिका पेस गर्दै दुई समूह

महामन्त्री गगन थापा र सहमहामन्त्री महेन्द्र यादव


नेपालखबर
कात्तिक १८, २०८२ मंगलबार १४:१३, काठमाडौँ

नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा १५औं महाधिवेशनको दुई वटा कार्यतालिका पेस गर्ने तयारी छ। महामन्त्री गगनकुमार थापा र सहमहामन्त्री महिन्द्र महेन्द्र यादवले दुई फरक कार्यतालिका पेस गर्ने भएका हुन्। 

इतर समूहको तर्फबाट थापाले नियमित महाधिवेशन ढिलोमा पुस १६-१९ गतेका लागि प्रस्ताव गर्नेछन्। संस्थापन समूहको तर्फबाट सहमहामन्त्री यादवले वैशाख २५-२८ गतेसम्मका लागि प्रस्ताव गर्दैछन्।  

यसअघि सोमबार दिनभर ललितपुरको धोविघाटमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले डाकेको छलफलमा महामन्त्री थापा आजको बैठकमा सहभागी हुने र आफ्नो कुरा राख्ने सहमति जुटेको थियो। यसअघिको एउटा बैठक थापाले बहिष्कार गरेका थिए। 

आजको बैठकमा खड्काले बैठकको सुरुवात गरी विषयबस्तु प्रवेश गराउनेछन् त्यसपछि थापालाई समय बोल्न आग्रह गर्नेछन्।  

सभापति शेरबहादुर देउवा खड्कालाई कार्यवाहको जिम्मेवारी दिएर उपचारका लागि विदेश गए पनि उनको समूह अहिले विशेष महाधिवेशन गर्ने पक्षमा छैन्। उता थापासहित महामन्त्री विश्वप्रकाश शर्मा, शेखर कोइरालासहितका इतर समूह भने नियमित समयमा महाधिवेशन सम्पन्न नहुने अवस्था भए तत्काल विशेष महाधिवेशनको तालिका ल्याउनुपर्ने पक्षमा छन्।   

थापाले यसअघिकै बैठकमा महाधिवेशन तालिका पेस गर्ने तयारी गरेका थिए। तर, सभापति देउवा समूहका पदाधिकारी तथा पूर्वपदाधिकारी सहमत नहुँदा केन्द्रीय समितिमा महाधिवेशन प्रस्ताव पेस हुन सकेको छैन। कांग्रेसमा सभापतिले समर्थन दिएपछि महामन्त्रीले एजेन्डा तथा प्रस्ताव प्रस्तुत गर्ने चलन छ।  

कात्तिक १३ गतेको केन्द्रीय समिति बैठकमै महामन्त्री थापाले महाधिवेशन प्रस्ताव पेस गर्न समय माग गरेका थिए। तर कार्यवाहक सभापति खड्काले सहमत नभएपछि उक्त दिन थापाले बहिष्कार गरे। महामन्त्रीले बैठक बहिष्कार गरेपछि खड्काले संवादमार्फत विवाद समाधान गर्न प्रयास गरे पनि सहमति जुटेन। 

सहमहामन्त्रीहरू महालक्ष्मी उपाध्याय (डिना), फरमुल्लाह मन्सुर, भिष्मराज आङ्देम्बे, केन्द्रीय कार्यसम्पादन समिति सदस्य रमेश रिजाल, जिपछिरिङ लामाले चुनावअघि १५ औं महाधिवेशन गर्नुपर्ने कुरा केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा राख्दै आएका छन्।

सभापति देउवानिकट अरू पदाधिकारी र पूर्वपदाधिकारी विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत, शशांक कोइरालालगायतले चुनावपछि महाधिवेशन गर्नुपर्ने बताउँदै आएका छन्। तर महामन्त्रीद्वय थापा र शर्मा तथा नेता शेखर कोइराला चुनावअघि महाधिवेशन गर्नुपर्ने पक्षमा छन्।

यसैबीच सभापति शेरबहादुर देउवानिकट केही केन्द्रीय सदस्यहरूले सोमबार बानेश्वरमा भेला गरी चुनावपछि वैशाखमा महाधिवेशन गर्न उपयुक्त हुने निष्कर्ष निकालेको छ। त्यसअनुसार केन्द्रीय समितिमा महाधिवेशन कार्यतालिका प्रस्ताव लैजाने पक्षमा केन्द्रीय सदस्यहरू छन्।

आजै विशेष महाधिवेशन पक्षधरले नयाँ बानेश्वरमा भेला गरिरहेका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad