सारा बेगमको सबै कष्ट अगस्ट ३ मा सुरु भयो। मास्क लगाएका प्रहरी उनको घरमा पसे। उनको छोरालाई मारपिट गरे र लिएर गए।
भारत सरकारले कस्मिरको विशेष दर्जा खारेज गरेर यो राज्यलाई टुक्र्याएपछि अन्य हजारौँ कस्मिरीसँगै सारा बेगमका २८ वर्षीय छोरा फयाज अहमद मिर पनि पक्राउ परेका थिए।
सरकारी दमनका कारण कस्मिरको दैनिक जीवन ठप्प भयो। धेरै मानिस घरबाट बाहिर निस्किन समेत डराए।
छोरा पक्राउ परेपछि सारा बेगम कमजोर बन्दै गइन्। उनको मानसिक स्वास्थ्य पनि खलबलिँदै गयो। यतिबेला उनी डिप्रेसनका दुईखाले दबाइ खाइरहेकी छन्। हालसम्म उनले दुई पटक आत्महत्या प्रयास पनि गरिसकिन्। एक पटक उनले मुसाको बिख खाइन्, अर्को पटक नदीमा हाम फालिन्।
‘जब आँखा चिम्लिन्छु, म छोरालाई नै देख्छु,’ सारा बेगम भन्छिन्, ‘आमा म एक पटक तिम्रो मुख हेर्न चाहन्छु भनेर ऊ चिच्याइरहेको हुन्छ।’
कस्मिरको अर्धस्वतन्त्र हैसियत खारेज गरेर भारतले यसलाई पूर्ण रुपमा आफ्नो नियन्त्रणमा लिएपछि यस क्षेत्रका मानिसमा गम्भीर मानसिक समस्या बढेको डाक्टरहरुको भनाइ छ। निरासा मनोविकारमा बदलिएको उनीहरु बताउँछन्। मनोचिकित्सकहरुका अनुसार कस्मिरमा डिप्रेसन, एन्जाइटीका बिरामी र पागलपनका कारण हुने घटनामा ठूलो वृद्धि हुन थालेको छ।
वास्तविक तथ्यांक पाउन मुस्किल छ। तर, स्थानीय स्वास्थ्यकर्मीहरुले आत्महत्या र घरेलु हिंसाका घटनामा ह्वात्तै वृद्धि भएको बताएका छन्।
कोरोना भाइरसको महामारी रोक्न देशव्यापी रुपमा गरिएको लकडाउनले यो समस्यालाई अझ बढाएको स्वास्थ्यकर्मीहरुको भनाइ छ। अहिले प्रहरीले काँडेतार लगाएर सडक बारेको छ। कस्मिरमा, खासगरी सहरी क्षेत्रमा जो घरबाहिर निस्किन्छन्, उनीहरुले कुटाइ खाने जोखिम छ।
यस्तो समस्यासँग जुध्न कस्मिरमा स्रोत साधनको अभाव छ। दशकौँदेखि यहाँ द्वन्द्व जारी छ। भारतीय सुरक्षा फौज र कस्मिरी लडाकुबीचको लडाइँका कारण यहाँका मानिसले धेरै शारीरिक र मानसिक क्षति बेहोर्नुपरेको छ।

डक्टर्स विदआउट बोर्डर्सले सन् २०१५ मा गरेको सर्वेक्षणअनुसार कस्मिरका झण्डै १८ लाख मानिस कुनै न कुनै रुपको मानसिक अस्वस्थतासँग जुधिरहेका छन्। यो संख्या यहाँ रहेका जम्मा वयष्कमध्ये झण्डै आधा हो। यीमध्ये ९० प्रतिशतले द्वन्द्वसम्बन्धी मानसिक चोट भोगेका छन्। भारतका अन्य क्षेत्रभन्दा यो निकै बढी हो।
डा. माजिद साफी सरकारी मनोचिकित्सक हुन्। उनी गत वर्ष सातामा एक सय बिरामी हेर्थे। अहिले उनी ५ सयभन्दा बढी हेरिरहेका छन्। कस्मिरभर ६० भन्दा कम मनोचिकित्सक छन्।
डा. साफीको अफिसबाहिर सर्पझैँ लामो लाइन देख्न सकिन्छ। लाइनमा उभिएका छन्–हिंसात्मक घटनामा चोट बेहोरेका किशोरकिशोरी, बन्दी बनाइएका छोराछोरीको चिन्ताले सुत्न नसकेका आमाहरु, ऋणको पहाडले थिचिएका व्यवसायी, जुन पहाड लकडाउनपछि दिनदिनै अग्लिँदै गएको छ।
‘यो त देखिएको सानो हिस्सा मात्र हो,’ डा. साफी भन्छन्, ‘यो संकट बढ्दै गइरहेको छ। साफी झण्डै १० लाख जनसंख्या रहेको पुलवामा जिल्लाको एक मात्र सरकारी मनोचिकित्सक हुन्।
उथलपुथलको हरेक नयाँ चरणले कस्मिरमा नयाँ किसिमको पीडा ल्याउँछ। एक पटक भारतीय फौजको गोलीको सिकार भएका किशोरहरुको लासको थुप्रो लाग्छ। अर्को पटक प्रहरीले पेलेट गनले कस्मिरीको आँखा फुटाउने लहर चल्छ। गएको वर्ष भने अभूतपूर्व दमनका लागि सम्झिइने छ।
धारा ३७० को खारेजीलगत्तै यहाँ ठूलो संख्यामा सुरक्षा फौज तैनाथ गरियो। सडक बन्द गरियो, टेलिफोन, मोबाइल र इन्टरनेट बन्द गरियो। विद्यार्थी हुन् वा निर्वाचित सांसद, हजारौँ कस्मिरीलाई समातेर थुनियो।

थुनिएकामध्ये केही छुटे। तर, धेरै जेलमै छन्। केही स्थानमा फोन र इन्टरनेट चालू गरिएको छ। तर, तिनको स्तर पहिलेको जस्तो छैन।
घरबाहिर निस्किन, सडकमा डुल्न जोखिम भएपछि धेरै कस्मिरी सामाजिक सञ्जालमा भुल्थे। अहिले उनीहरु निकै एक्लो महसुस गरिरहेका छन्। बालबालिका स्कुल जान नपाएको महिनौँ भइसक्यो। पहिले सैन्य दमन र त्यसपछि कोरोना भाइरस लकडाउनका कारण वर्षभरीमा विद्यार्थीहरु केही साता मात्र स्कुल जान पाए।
केही वर्षअघि सारा बेगमका छोरा पनि सरकारविरोधी प्रदर्शनमा सामेल भएका थिए। त्यसैकारण उनलाई गत अगस्टमा पक्राउ गरिएको उनको परिवारको अनुमान छ। ६० कटेकी सारा बेगमले अशान्तिको समयमा निकै कष्ट सहेर छोरा हुर्काएकी थिइन्। सरकारी सुरक्षा फौज र लडाकु दुवैतर्फबाट जोगाएर छोरालाई तन्नेरी बनाउनु सजिलो काम थिएन।
तर, अहिले उनको छोरालाई सयौँ किलोमिटर टाढा पुर्याएर ‘शान्तिका लागि खतरा’ भएको आरोपमा थुनिएको छ। छोरोलाई थुनिएको ठाउँ पुग्न उनीहरुसँग पैसा छैन। अक्टोबरमा मोबाइल नेटवर्क पुनः सुरु भएपछि सरकारी अधिकारीहरुले छोरासँग भिडियो कल गराइदिने वाचा गरेका थिए। तर, अहिलेसम्म गराइएको छैन।
सारा बेगमको हालत झन्झन् खराब हुँदै गएको छ। ‘मेरो छोरो मबाट चोरियो,’ उनी भन्छिन्, ‘म उसलाई सपनामा देख्छु। उसको अनुहारमा पट्टी बाँधिएको छ। डरले उसको हातगोडा कामिरहेको छ। ऊ पानी माग्छ। तर, उसलाई दिन सक्दिनँ। मेरो हातगोडामा नेलहतकडी लागेको छ।’
भारतीय गृह मन्त्रालयका अनुसार सारा बेगमका छोरा मिर अगस्टमा अरु ७ हजार मानिससँगै पक्राउ परेका थिए। जसमध्ये ४ सय ५० अझै लेजमै छन्। तीन जना पूर्वमुख्यमन्त्री पनि जेलबाट छुटेका छैनन्। भारतको सार्वजनिक सुरक्षा कानुनअन्तर्गत उनीहरुलाई बन्दी बनाइएको हो। जसअनुसार कुनै आरोपबिनै दुई वर्षसम्म जेलमा राख्न सकिन्छ।
हालै छुटेका मानिसहरुले आफूहरुले भोग्नुपरेको भयका बारे मुख खोलेका छन्।
एक राजनीतिकर्मी बिलाल सुल्तानले आफूलाई जेलमा भयंकर अपराधीहरुमाझ राखिएको बताए। जसका कारण आफू डिप्रेसनमा परेको उनको भनाइ छ।
‘मैले आत्महत्या गर्ने सम्भावना डाक्टरले देखेपछि मात्रै मलाई छाडिएको हो,’ सुल्तान भन्छन्। उनी अहिले निद्राको दबाइ खान्छन्। बारम्बार एउटै सपना देखिरहने उनको गुनासो छ।
‘म एउटा रिसोर्टतिर गइरहेको हुन्छु। अचानक सैनिकहरुले मलाई रोक्छन् र दुई आँखाको माझमा गोली ठोक्छन्,’ श्रीनगरका ५५ वर्षीय सुल्तान सुनाउँछन्, ‘पहिले म निकै बलियो मान्छे थिएँ। अहिले मलाई आफ्नै बालबच्चादेखि पनि डर लाग्छ।’

तर, सबैभन्दा ठूलो व्याथा कस्मिरको नयाँ पुस्ताले भोगिरहेको छ।
अगस्टमा दमन सुरु हुनुअघिसम्म निदा रहमान एउटा गैरनाफामुखी संस्था चलाउँथिन्। जसले कस्मिरीमाझ मानसिक स्वास्थ्यका विषयमा चेतना जगाउने गथ्र्यो। तर अरुलाई सिकाएको पाठ आफैँले सिक्न भने नसकेको उनी बताउँछिन्।
पुरानो तस्बिरमा उनी खुसी देखिन्छिन्। तर, अहिले चिन्ताले उनलाई खाइसकेको छ। उनको तौल घटेको छ, गाला भास्सिएका छन्। आँखा वरिपरि कालो घेरा निस्केको छ।
२८ वर्षीय रहमान गत वर्ष मनोचिकित्सककहाँ पुगिन्। उनलाई गम्भीर डिप्रेसन भएको डाक्टरले ठम्याए। कयौँ दिन उनी निदाउन सक्दिनन्। उनको परिवारले पिँजडामा ‘नूर’ नामक सुगा पालेको थियो। त्यही सुगासँग उनी घण्टौँ समय बिताउँथिन्।
‘म नुरजस्तै पिँजडामा थुनिएको महसुस गर्थेँ,’ रहमान भन्छिन्, ‘खुसीको संसार त मेरो हातबाट चिप्लेर गइसक्यो।’
उनले सुगासँग बात मारेको देखेपछि उनको परिवार चिन्तित र लज्जित हुन थाल्यो। त्यसपछि उनीहरुले सुगा छाडिदिन उनलाई फकाए। एक साँझ रहमानले नूरलाई उडाइदिइन्।
तर, यसबाट पनि उनलाई बिसेक भएन। अहिले रहमान नियमित औषधि खान्छिन्।
मिरकी आमा सारा बेगमको अवस्था पनि उस्तै छ। मौसम तात्तिँदै गएको छ, दिन लामो हुँदैछ। सारा बेगम घरबाहिर राखिएको ट्रयाक्टर एकोहोरो हेरेर यी लामा दिन काटिरहेकी छन्। त्यो ट्रयाक्टर उनका छोरा मिरले ऋण काढेर किनेका थिए। बैंकले अहिले उनीहरुलाई बारम्बार घर लिलामी गर्ने चेतावनी दिइरहेको छ।
सारा बेगमको हात काम्छ, बोल्न खोज्दा ओठ थर्थराउँछ। डिप्रेसनले उनलाई निकम्मा बनाएको छ। आफूले खाना समेत पकाउन नसक्ने उनी बताउँछिन्।
‘मैले छोराको मुख हेर्न पाउँदिनँ होला,’ उनी भन्छिन्, ‘ऊ घर नआई म मर्छु होला।’
(द न्युयोर्क टाइम्सबाट)

प्रतिक्रिया