प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधि सभा निर्वाचनको तयारी र समन्वयका विषयमा सातवटै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरेकी छन्।
आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको सम्बन्धमा प्रधानमन्त्री कार्कीले सातवटै प्रदेशका मुख्यमन्त्रीहरुसँग छलफल गरेकी हुन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफल अत्यन्तै प्रभावकारी र सकारात्मक रहेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताए।
उनका अनुसार सातवटै प्रदेशका मुख्यमन्त्रीहरुले प्रदेशस्तरमा रहेको शान्ती सुव्यवस्था लगायत विषयमा प्रधानमन्त्री कार्कीलाई ब्रिफिङ गरेका थिए। आगामी निर्वाचन, सुशासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रणका विषयमा संघीय तथा प्रदेश सरकारबीच कसरी प्रभावकारी समन्वय गर्न सकिन्छ? भन्ने विषयमा गम्भीर छलफल भएको सञ्चारमन्त्री खरेलको भनाइ छ।
उनले भने, ‘सात वटा प्रदेशका मुख्यमन्त्रीहरूसँगको बैठक उपलब्धीमूलक र सकारात्मक रहेको छ। आगामी निर्वाचन र सुशासन तथा भ्रष्टाचार नियन्त्रणको सवालमा प्रदेश सरकार र संघीय सरकारबीच कसरी समन्वय गर्न सकिन्छ भन्ने विषयमा गम्भीर छलफल भएको छ। मुख्यमन्त्रीज्यूहरूले चुनावको लागि प्रदेशस्तरमा कस्तो वातावरण छ भन्ने कुरा ब्रिफिङ भयो। सबै तहका सरकार मिलेर निर्वाचन सम्पन्न गर्न आआफ्नो भूमिका प्रभावकारी बनाउने सहमति पनि भएको छ। केही नीति, नियम र बजेट कार्यान्वयनका सम्बन्धमा अझैपनि छलफल जारी छ। छलफलमा मुख्यमन्त्रीज्यूहरूले कानुनी र वित्तिय अल्झनहरूका बारेमा गुनासो राखेका छन्। यी अल्झन चिर्न उहाँहरुको सुझाव थियो। यसबारे प्रधानमन्त्रीले सकारात्मक रहनुभएको छ।’
उनले सबै तहका सरकार मिलेर आगामी निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न आ–आफ्नो भुमिका प्रभावकारी बनाउने सहमति बैठकमा भएको पनि बताए। मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनारले अन्तरिम सरकारले संघीयताको मर्म र भावनाअनुसार समन्वय नगरेकोप्रति आपत्ति जनाए।
उनले अगामी २१ फागुनमा निर्वाचन सम्पन्न गर्न आवश्यक वातावरण निर्माण भइनसकेको बारेमा प्रधानमन्त्री कार्कीसँग सरोकार राखेको पनि बताए। उनले निर्वाचनको वातावरण बनाउन सरकारले सुरक्षाको अनुभुति र सुरक्षा निकायको मनोबल बढाउनुको विकल्प नरहेको भन्ने सुझाव दिएको पनि बताए।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रधानमन्त्री कार्कीसँग अगामी निर्वाचन र प्रदेश सरकार र संघीय सरकारबीच समन्वय गरेर अगाडि जाने विषयमा छलफल भएको बताए। उनले प्रधानमन्त्री कार्की संघीयता र अगामी निर्वाचनको बारेमा अत्यन्त सकारात्मक देखिएको पनि बताए।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले मुलुकमा शान्ति सुव्यवस्था कायम भइनसकेको अवस्थामा निर्वाचन हुन नसक्ने उल्लेख गर्दै निर्वाचनको वातावरण गर्न प्रधानमन्त्री कार्कीलाई आग्रह गरेको बताए। प्रधानमन्त्री कार्कीले निर्वाचन सम्पन्न गर्न सहयोग गर्न मुख्यमन्त्रीहरुलाई आग्रह गरेको र सोकुरामा सहमति भएको बताए।
प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधि सभा निर्वाचनको सम्बन्धमा सबै प्रदेशका मुख्यमन्त्रीहरुसँग छलफल गरेकी हुन् यसअघि सरकारले सबै राजनीतिक दल र जेन–जी प्रतिनिधिहरुसँग समेत छलफल गरिसकेको छ।
Shares

प्रतिक्रिया