नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायतका दलहरूबीच कात्तिक २० गते एकता हुने भएको छ।
आइतबार पेरिसडाँडामा बसेको माओवादी केन्द्रको सचिवालय बैठकले उक्त निर्णय गरेको हो।
पार्टीका प्रवक्ता अग्नीप्रसाद सापकोटाका अनुसार कात्तिक १८ गते बस्ने केन्द्रीय समिति बैठकमा संगठनात्मक र नीतिगत विषयमा छलफल हुनेछ भने २० गते एकता प्रक्रियासम्बन्धी संयुक्त बैठक बस्नेछ।
नेकपा (एकीकृत समाजवादी) सहित एकतामा आउने दलहरूसँग संयुक्त बैठक बसेर एकता घोषणा हुनेछ।
‘हाम्रो केन्द्रीय समिति बैठक पर्सी १८ गते बस्ने निर्णय भएको छ,’ सापकोटाले भने, ‘अनि संयुक्त अधिवेशन एकीकृत समाजवादी लगायतका एकतामा आउनेहरुको बैठक २० गते बस्नेकुरा भएको छ।’
बैठकमा पार्टी एकतापछि नयाँ दल दर्ता प्रक्रिया र त्यसको तयारीबारे पनि विस्तृत छलफल भएको सापकोटाले जानकारी दिए। उनका अनुसार ‘नीतिगत, वैचारिक र संगठनात्मक विषयहरू मिलाएर निर्वाचन आयोगमा नयाँ दल दर्ता गर्ने तयारी’ बैठकको मुख्य एजेन्डा थियो।
सचिवालयका सदस्य जनार्दन शर्माले भने आजको बैठक बहिष्कार गरेका छन्। संयोजक पुष्पकमल दाहाल प्रचण्ड’ नेतृत्वमा पार्टी एकता अघि बढाउने निर्णयप्रति असहमति जनाउँदै शर्माले शनिबारको बैठकमै आफ्नो असन्तुष्टि सार्वजनिक गरेका थिए।
प्रवक्ता सापकोटाले जनार्दन शर्माको गतिविधि ‘पार्टी अनुशासन विपरीत र अराजक’ रहेको भन्दै सोबारे पार्टीले आवश्यक निर्णय लिने बताए।
‘हिजोको बैठकमा उहाँले आफ्ना कुरा राख्नुभयो तर अन्य नेताहरूको धारणा सुन्नुअघि नै बैठक छोड्नुभयो। त्यस शैलीलाई हामीले राम्रो नभएको ठानेका छौं,’ उनले भने।
माओवादी केन्द्रले एकीकृत समाजवादी लगायत दलहरूसँग वैचारिक, नीतिगत र संगठनात्मक एकतापछि नयाँ दल दर्ता गरी संयुक्त अधिवेशनमा जाने तयारी गरेको जनाएको छ।
Shares

प्रतिक्रिया