राजनीतिक दलहरूप्रति आक्रोश पोख्ने क्रममा ‘अश्लील’ शब्दमा स्टाटस लेखेपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ पार्टी नेतादेखि सरकारका मन्त्रीसम्मको निसानामा परेका छन्।
बालेनले गएराति फेसबुकमा अमेरिका, भारत र चीन तथा नेपालका राजनीतिक दलहरू नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र माओवादीलाई लहरै राखेर अंग्रेजीमा एउटै अश्लील शब्द प्रयोग गरेका थिए।
लेख्नासाथ व्यापक आलोचना हुन थालेपछि उनले केही बेरपछि त्यो स्टाटस हटाएका थिए। तर त्यसको स्क्रिनसट सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
यतिबेला सर्वसाधारणले मात्र होइन, राजनीतिक दलका नेतादेखि सरकारका मन्त्रीसम्मले उनको आलोचना गरिरहेका छन्।
धेरैले उनलाई गाजा तानेर स्टाटस लेखेको आरोप लगाइरहेका छन्।
एमाले नेता विष्णु रिजालले त उनलाई तत्काल पक्राउ नै गर्न माग गरेका छन्।
एमाले केन्द्रीय सदस्य रिजालले आइतबार बिहान सामाजिक सञ्जालमा लेखेका छन् ‘बालेन साहले हद नाघ्दै गएका छन् र देशमाथि खतरा बनिरहेका छन्। नेपालमा गाँजा प्रतिबन्धित छ। गृहमन्त्री ओमप्रकाश अर्यालले सिंहदरबार जलाउने मतियार बालेनलाई अविलम्ब गिरफ्तार गर्नुपर्छ। नत्र अराजकता र मुठभेड बढ्छ।’

यस्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पनि बालेनले गाँजा खाएर नै त्यो स्टाटस लेखेको शंका गरेका छन्।
उनले सामाजिक सञ्जालमा अप्रत्यक्ष रूपमा लेखेका छन्, ‘केही केही आशालाग्दा अभियन्ताहरू र अगुवाहरूले बेलाबेलामा सर्को तानेर बोलेको र लेखेको जस्तो-जस्तो लाग्छ। सर्को ताने पनि केही छैन। तर सर्को तानेको बेलामा केही पनि नबोल्न र नलेख्न अनुरोध छ।’

यस्तै एमालेका पोलिटब्युरो सदस्य सूर्य थापाले अझ चर्को रूपमा बालेन गाँजाको अम्मली नै भएको आरोप लगाएका छन्।

बालेनविरुद्ध एमालेका उपमहासचिव विष्णु रिमाल, पोलिटब्युरो सदस्य महेश बस्नेतलगायतले पनि चर्को आलोचना गरेका छन्।


Shares

प्रतिक्रिया