राजनीति


सुरक्षाकर्मीले सहयोग नगर्दा ओली नेतृत्वको सरकार ढल्यो: शंकर पोखरेल

सुरक्षाकर्मीले सहयोग नगर्दा ओली नेतृत्वको सरकार ढल्यो: शंकर पोखरेल

नेपालखबर
कात्तिक १३, २०८२ बिहिबार १४:२, काठमाडौँ

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुरक्षाकर्मीको असहयोगका कारण एमाले नेतृत्वका सरकार ढलेको बताएका छन्। 

बिहीबार दाङमा आयोजित पत्रकार सम्मेलनमा उनले नेपाल प्रहरीको भीड व्यवस्थापन सम्बन्धी विगतलाई हेर्दा १०/१५ हजार भीड व्यवस्थापन सहजै गरेको देखिए पनि यतिखेर असहयोग र षड्यन्त्र भएको दाबी गरे। 

यतिखेर सुरक्षा संयन्त्रले सरकारलाई असहयोग गरेकै कारण पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढल्न पुगेको उनले बताए।  

‘नेपाल प्रहरीले लाखौंको भीडको व्यवस्थापन गर्ने क्षमता देखाएको छ विगतमा,’ उनले भने, ‘लाखौंको भीडमा बल प्रयोग गर्दा पनि मुस्किलले एक दुई जनाको क्षति हुने गरेको विगतमा देखेका थियौं। यतिखेर पन्ध्र हजार जतिको जुलुस क्षति कति उन्नाइस बीस जना। यो हालसम्म नेपाल प्रहरीको भीड व्यवस्थापन गर्ने अभ्याससँग मिल्दो छ? त्यस अर्थमा त्यसका षड्यन्त्र छ भन्ने कुरालाई जबसम्म हामी खोज्ने पर्यत्न गर्दैनौं तबसम्म २३ र २४ गतेको घटना घटाउने र राष्ट्रलाई कमजोर गराउनेहरू हामी बेखबर हुनुपर्ने छ।’

त्यस्तै, उनले कतिपयले भदौ २३ र २४ गतेको आन्दोलनलाई सामान्य आक्रोशको रूपमा चित्रण गर्न खोजेको भए पनि त्यो कुरा सही नभए बताए।

‘जहाँ डेटाहरू संकलन हुन्छ, कम्प्युटरको सिपियु त्यसमा सबैभन्दा बढी आक्रमण भएको छ। के नेपाली नागरिकले यस्तो आन्दोलन गर्छन र?,’ उनले भने, ‘नेपाल प्रहरी र न्याय प्रणाली माथिको आक्रमण नेपालको कानुन प्रणालीलाई खलबल्याउन गरेको प्रयास थिएन।’ 

नेपालको गणतन्त्रको पहिचान शीतल निवास र सिंहदरबार जस्ता आफैमा सम्पदा क्षेत्रका संरचनाहरू तहसनहस पार्ने षड्यन्त्र घुसपैठमार्फत् भएको उनले बताए। 

उनले वडा कार्यालयले कहाँनेर दमन गरेको थियो? भन्ने प्रश्न गरेका थिए। त्यस्तै, उनले गैरसरकारी संस्थालाई ‘हामी नेपाल’ आन्दोलनको स्टेक होल्डर मान्ने र उसैले सरकार बनाउने कुरा असंवैधानिक भएको जिकिर गरे।

‘गैरसरकारी संस्था नेपालको राजनीतिको स्टेक होल्डर हुनै सक्दैन। नेपालको सरकार र संविधानले एनजिओ आइएनजिओलाई मान्यता नदिने हुँदा अहिलेको सरकार असंवैधानिक हो। यो सरकार एनजिओ आइएनजीओको सरकार हो,’ उनले भने, ‘राजनीति नेपालका राजनीतिक दलहरू नै गर्ने हुँदा त्यस्ता तत्वले बनाएको सरकार संवैधानिक भन्न नमिल्ने कुरा हो।’

भदौ २३ गतेको घटनालाई साँझ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यन्त चिन्ता व्यक्त गर्दै मन्त्रिपरिषद् बैठकमा यस प्रकारको दुर्घटना किन भयो र कसका कारणले भयो भन्ने जिज्ञासा राखेको महासचिव पोखरेलले बताए। 

अहिले घटना छानबिनका लागि बनेको गौरीबहादुर कार्की आयोगका अध्यक्षले नै पहिले भीडलाई उत्तेजक बनाउनका लागि लेखेका स्ट्याटसहरू बाहिर आइसकेको भन्दै महासचिव पोखरेलले त्यो आयोगले निष्पक्ष छानबिन गर्न नसक्ने संशय व्यक्त गरे। 

‘जो आफै द्वन्द्वको एउटा पक्ष उसबाट निष्पक्ष छानबिको अपेक्षा गर्न सकिन्छ,’ महासचिव पोखरेलले भने, ‘निष्पक्ष छानबिन भनेको त्यो हो जो तटस्थ छ। अहिले गठन गरेको कार्की आयोगले विगतमा लेखेका कुराले छानबिन निष्पक्ष हुँदैन भन्ने स्पष्टै छ।’

त्यस्ता कुरा बाहिर आइसकेपछि नैतिक हिसाबले गौरीबहादुर कार्कीले आफै छानबिनको नेतृत्व छोड्नु उपयुक्त हुने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad