जेनजी अगुवाबीच नै मुलुकको शासन प्रणालीको विषयमा मतभेद देखिएको छ।
प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बुधबार भएको राजनीतिक दल र जेनजी प्रतिनिधिबीचको छलफलमा यस्तो मतभेद देखिएको हो। सरकार, राजनीतिक दल र जेनजीका प्रतिनिधिबीच बुधबार राति अबेरसम्म वार्ता भएको थियो।
छलफलका क्रममा प्रधामन्त्री कार्कीले २१ फागुनका लागि घोषित प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्ने वातावरण बनाउन सबैलाई आग्रह गरेकी थिइन्।
छलफलका क्रममा प्रत्यक्ष निर्वाचित कार्यकारी र संघीयता खारेजी विषय उठेपछि जेन्जी अगुवाबीच नै मतभेद देखिएको हो।
जेनजीका तर्फबाट सुरुमै बोलेका मिराज ढुंगानाले प्रत्यक्ष कार्यकारीको निर्वाचन हुनुपर्ने र संघीयता खारेजी हुनुपर्ने माग राखेका थिए।
उनलाई बीचैमा रोकेर अर्का जेनजी अगुवा उपअर्जुन चाम्लिङ राईले ढुंगानाको भनाइको खण्डन गरे।
ढुंगानाको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनले आन्दोलनका क्रममा माग नै नभएको विषयलाई एजेण्डा बनाउन नहुने बताए।
संघीयता खारेज गर्ने बाटोमा अग्रसर भए अर्को विद्रोह हुने चेतावनी पनि उनले दिए। आफूहरु वर्तमान संवैधानिक व्यवस्था र प्रणालीको पक्षमा रहेको र सुशासन मात्र आफूहरुको एजेण्डा रहेको चाम्लिङको भनाई थियो।
‘संघीयता खारेज गर्न खोजिए कोसी प्रदेशबाट मात्रै १० लाख मानिस काठमाडौँ आएर आन्दोलन गर्ने छन्,’ चेतावनीको शैलीमा राईले भने, ‘त्यतिबेला सरकारले थेग्न सक्दैन।’ जेनजीका तर्फबाट बोलेका अन्यले पनि राईको भनाइमा समर्थन जनाएका थिए।
वार्तामा जेनजीबाट ढुंगाना र चाम्लिङसहित रक्षा बम, मोनिका निरौला, पुरुषोत्तम यादव, सामना लावती, खेमराज साउद, भोजविक्रम थापा, विवेक दाहाल, जेम्स कार्की, रेहनराज डंगोल, अमित खनाल र राजन रानामगर सहभागी थिए।
Shares

प्रतिक्रिया