नेकपा एमालेका पूर्वसांसद एवम् प्रभु ग्रुपका सञ्चालक देवीप्रसाद भट्टचनलाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
ठगी तथा नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसुरमा ६२ वर्षका भट्टचनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मंगलबार पक्राउ गरेको थियो। बुधबार अदालतमा उपस्थित गराउँदा ५ दिन म्याद दिएको र सीआईबीको हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले बताए।
ठाकुरप्रसाद मानन्धर लगायतले जाहेरी दिएपछि सीआईबीले कुसुम लामा समेत माथि ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूरमा लामो समयदेखि अुसन्धान गरिरहेको थियो।
सीआईबीले संकलन गरेको प्रमाणहरुको आधारमा लामो समयदेखि अनुसन्धानलाई नै प्रभावित गरी लुकिछिपी बसेको आरोप प्रहरीले लगाएको छ।
भट्टचन समेतले रेमिट कारोबार गर्न नेपाल राष्ट्र बैंक मार्फत प्रभु मनि ट्रान्सफर प्रालिको लाइसेन्स प्राप्त गरेका थिए।
यही मार्फत विदेशमा बसेका नेपालीहरुले पठाएको रकम भुक्तानी दिन सहकारी मार्फत् विप्रेषण बापतको रकम भुक्तानी गराउने गरी २०६९ पुस १ गते प्रभु म्यानेजमेन्ट प्रालि र प्रभु मनि ट्रान्फर प्रालिबीच करार सम्झौता भएको थियो।
त्यतिबेला दुवै कम्पनीका मुख्य सञ्चालक देवीप्रकाश भट्टचन थिए। प्रभु म्यानेजमेन्ट प्रालिलाई सुपर एजेण्टको रूपमा नियुक्त गरी उक्त प्रभु म्यानेजमेन्ट प्रालिका तर्फबाट तत्कालिन प्रबन्ध निर्देशक कुसुम लामाले देशभरका विभिन्न सहकारी संस्थाहरू मार्फत विप्रेषणको कारोबार गर्ने सम्झौता गरेकी थिइन्।
नेपाल राष्ट्र बैङ्क विप्रेषण विनियमावली, २०७९ २०७९ माघ १३ गते जारी भएकोमा त्यसविपरित उनीहरुले काम गरेको आरोप उनीहरुमाथि छ।
प्रभु म्यानेजमेन्ट प्रालिको सब–एजेण्टको रूपमा नियुक्त भएका देशभरका विभिन्न सहकारी संस्थाहरूले सम्बन्धित व्यक्तिलाई विप्रेषण बापतको रकम भुक्तानी गरेको तर प्रभु मनि ट्रान्फर प्रालिका अध्यक्ष देवीप्रकाश भट्टचन समेतले रकम हिनामिना गरी प्रभु म्यानेजमेन्ट प्रालिबाट सम्बन्धित सहकारी संस्थाहरूलाई उक्त रकम सोधभर्ना नगरेको आरोप छ।
देशभरका ३ दर्जनभन्दा बढि सहकारी संस्थाबाट यस विषयमा उजुरी परेको र उनको नाममा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भएको थियो।
सीआईबीले उनलाई मंगलबार ललितपुरको गोदावरी नगरपालिका ३ टौखेलबाट पक्राउ गरेको थियो।
२०७९ को निर्वाचनमा उनलाई नेकपा एमालेले समानुपातिकको जनजातीतर्फ पहिलो नम्बरमा राख्दै सांसद बनाएको थियो। त्यसअघि भने उनी नेपाली कांग्रेसमा आवद्ध थिए। कांग्रेसमा उनी संगठन विभागको उपप्रमुख समेत थिए।
Shares

प्रतिक्रिया