प्रधानमन्त्री शुसीला कार्कीले निर्धारित मितिमै चुनाव गराउन सरकार तयार रहेको भन्दै निर्धक्क लाग्न राजनीतिक दल र जेन–जी प्रतिनिधिलाई आग्रह गरेकी छन्।
बुधबार बालुवाटारमा करिब ५ घण्टा चलेको त्रिपक्षीय बैठकमा राजनीतिक दल र जेन–जी प्रतिनिधिको कुरा सुनेपछि प्रधानमन्त्री कार्कीले जवाफ दिएकी थिइन्।
‘सरकार चुनाव गराउन लागिपरेका छौँ, यसमा सबै सहभागी बनौँ, त्यसका लागि केन्द्रित बनौँ, शान्ति सुरक्षाको व्यवस्था पनि गरिन्छ,’ कार्कीले प्रतिबद्धता जनाउँदै भनिन्, ‘बाहिर पुगेको हतियार ल्याइसक्छौँ, कैदीहरू सबै समात्छौँ, फरार कैदी समात्ने प्रक्रिया सुरु भएको छ, कति समातिएका छन्, बाँकी समात्छौँ।’
उनले जेनजी आन्दोलनमा परेका घाइतेको उपचार र सहयोग तथा सहिद परिवारलाई पनि राज्यले सहयोग गर्ने बताइन्।
बैठकमा एमालेबाहेक राजनीतिक दल र जेन–जीका प्रतिनिधिले पनि चुनावमा जानुपर्ने मत राखेका छन्। मिराज ढुङ्गानाले भने प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रावधान राख्नुपर्ने मत राखे।
‘कांग्रेस संसद पुनर्थापना हुनैपर्छ भनेर अडिग रहेन,’ जसपा नेपालका नेता प्रकाश अधिकारीले भने, ‘भएको परिवर्तनलाई कसरी कानुनीरुपमा मिलाउने? के केमा सहमतिमा गर्ने हो त्यो पनि गरौं भन्ने कांग्रेसको प्रस्ताव थियो।’
बैठकमा सहभागी भएका दलहरूमध्ये नेकपा एमालेले भने संसद पुनर्थापना हुनुपर्ने अडान राखेको छ।
अन्य दलले चुनावमा जान तयार रहेपनि सुरक्षा, खोसिएका हतियार र फरार कैदीको कारणले भयको वातावारण बनेकोमा चिन्ता जनाएका थिए।
Shares

प्रतिक्रिया