नेपाली कांग्रेसका नेता चन्द्रप्रसाद भण्डारीले नेपाली कांग्रेसले सत्ता सञ्चालन गर्न नजानेको बताएका छन्।
बीपी चिन्तन प्रतिष्ठानद्वारा बुधबार काडमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले कांग्रेस नेपाली जनतालाई मौलिक अधिकार दिलाउन तथा प्रजातान्त्रिक आन्दोलनमा सधैँ सफल भएपनि सत्ता सञ्चालन गर्ने विषयमा भने चुकेको बताए।
सत्ता सञ्चालन गर्ने बेलामा स्वार्थी र लोभी बनेको उनको आरोप छ। मुलुक, प्रजातन्त्र र पार्टीभन्दा व्यक्ति बलियो बन्ने प्रवृत्तिले नै अहिलेको समस्या रहेको उनको भनाई छ। यो समस्या समाधान नगरिकन व्यक्ति परिवर्तन भएपनि प्रवृत्ति परिवर्तन नहुने उनले बताए। उनले प्रवृत्ति परिवर्तन नभइकन मुलुक, प्रजातन्त्र र पार्टी पनि बलियो नहुने उल्लेख गरे।
उनले भने, ‘नेपाली कांग्रेसको इतिहासमा हामीले नेपाली जनतालाई मौलिक अधिकार दिलायौँ। पटकपटक प्रजातान्त्रिक आन्दोलनमा हामी लड्यौँ। हामी सफल भयौँ। कहाँ चुक्यौँ त भन्दा हामी सत्ता संचालन गर्न जानेनौँ। हामी स्वार्थी भयौँ, हामी लोभी भयौँ। मुलुक, प्रजातन्त्र र पार्टीभन्दा आफू बलियो हुन खोज्यौँ यही हो अहिलेको समस्या। यो समाधान नगरिकन युवा पुस्ताले मेरो हातमा आउँछ भन्ने कल्पना नगर्नु। व्यक्ति परिवर्तन हुँला प्रवृत्ति परिवर्तन हुँदैन। प्रवृत्ति परिवर्तन नभइकन मुलुक बलियो पनि हुँदैन। प्रजातन्त्र बलियो पनि हुँदैन। पार्टी पनि बलियो हुँदैन। यो अहिलेसम्मको निष्कर्ष हो।’
सुशासन र पारदर्शी कायम गर्न नसक्दा जेनजी विद्रोह भएको उनको भनाई छ। युवाहरूको मागलाई साथ दिनुपर्नेमा पनि उनले जोड दिए। उनले बीपी कोइरालाले युवालाई साथ नदिँदा देशमा सांस्कृतिक क्रान्ति हुने र त्यसलाई थाम्न नसक्ने बताएको पनि स्मरण गरे।
उनले २०३३ सालमा देश शंकटमा रहेको बेलामा बीपी कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्किएको उल्लेख गरे। उनले हाल एक अर्कालाई दोषारोपण गरेर बस्ने बेला नभएको बताए। राष्ट्रलाई अफ्ठ्यारो परेको बेला सबै कुरा गौण हुने उनको भनाई छ।
नेता भण्डारीले भने, ‘अहिले देश संकटमा छ। कसरी यो कुरा हामीले बुझ्न पर्यो। बीपीले त्यतिबेलै भन्नुभएको छ, हामीले युवालाई साथ दिएनौँ भने युवाले हामीलाई साथ दिँदैन। यदी देशमा कुनै सांस्कृतिक क्रान्ति भयो भने हामीले थाम्न सक्दैनौँ। बीपीले त्यतिबेलै भनेको हो। अहिले बीपीका कुरा गर्ने, बीपीको आचरण नगर्ने, गणेशमानजीको नगर्ने, किशुनजीको नगर्ने, सुर्वण शमसेरको नगर्ने। के नेताका परिवारहरूले आफ्ना बाउआमाको आचरण पालना गरेका छन्? यो सबैभन्दा ठूलो प्रश्न हो।’
उनले देशमा नकरात्मकता बढी फैलिएको कारण विद्रोह भएको बताए। उनले नेपालीहरूलाई विभिन्न नाममा लडाउने गरिएको उल्लेख गरे। सोहीअनुसार हाल उमेरको नाममा लडाउन खोजिएको बताए।
Shares

प्रतिक्रिया