राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले संविधान संशोधन नगरी आगामी चुनावमा जानुको कुनै अर्थ नहुने बताएका छन्। उनले जेनजी आन्दोलनको मर्मअनुसार देशमा स्थायी परिवर्तन चाहिने भए संविधान संशोधन पहिलो सर्त हुनुपर्नेमा जोड दिएका छन्।
बुधबार सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिबीच जारी त्रिपक्षीय वार्ताबारे सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै शाहीले लेखेका छन्, ‘आदरणीय जेनजी मित्रहरू, संविधान संशोधन नगरी चुनावमा गइयो भने हात्ती आयो हात्ती आयो फुस्सा बाहेक केही हुँदैन। चुनावबाट व्यक्ति परिवर्तन हुन्छन्, तर देशको अवस्था परिवर्तन हुँदैन।’
उनले वार्ता संविधान संशोधनको विषयमा केन्द्रित हुनुपर्ने बताएका छन्। ‘आजको वार्ताले संविधान संशोधन गरेर मात्रै चुनावमा जाने निष्कर्ष निकाल्नुपर्छ, अन्यथा यो फेरि नयाँ भ्रम सिर्जना हुनेछ,’ शाहीले भनेका छन्।
शाहीले राष्ट्रपतिले हालका राजनीतिक दल र सरकारसँग युवाहरूलाई झुक्काएको जस्तो अहिले पनि फेरि भ्रममा पार्ने प्रयास हुन सक्ने चेतावनी दिएका छन्। उनले वार्तामा सहभागी जेनजी प्रतिनिधिहरूलाई सचेत रहन आग्रह गर्दै भने, ‘युवाहरू फेरि झुक्किए भने यो आन्दोलनको मर्म कमजोर हुनेछ।’
त्यसैगरी, शाहीले वार्तामा सहभागी जेनजी प्रतिनिधिहरूको नियतमाथि पनि शंका व्यक्त गर्दै दाबी गरेका छन्, ‘आज प्रधानमन्त्रीले बोलाएका जेनजी नामधारीहरूमध्ये ८० प्रतिशत एनजीओका मान्छे जाँदैछन्। त्यसैले सच्चा राष्ट्रवादी युवा साथीहरू त्यही टोलीमा छौं भने पनि होसियार हुनु, धोका आफ्नै टिमबाट आउन सक्छ।’
शाहीको भनाइअनुसार, देशमा नयाँ पुस्ताले उठाएको आन्दोलनलाई परिणाममुखी बनाउन संविधान संशोधन नै निर्णायक चरण हो, अन्यथा ‘व्यक्ति मात्र फेरिएर प्रणाली उस्तै रहने’ खतरा कायमै रहनेछ।
Shares

प्रतिक्रिया