सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सामाजिक सञ्जाललाई व्यवस्थित र जिम्मेवार बनाउन आवश्यक रहेको बताएका छन्।
आज बुधबार सिंहदरबारस्थित सञ्चारमन्त्रालयको हलमा लोकसञ्चारमर्मी र अनलाइन टिभीकर्मीहरूसँग संयुक्त छलफल गर्दै उनले यस्तो बताएका हुन्।
उनले सामाजिक सञ्जालसहित अनलाइन मिडिया नयाँ मूलधारको मिडियाको रुपमा आफूले स्वीकारेको पनि बताए।
उनले सरकार जनताको आवाज सुन्ने, देखिने र महशुस हुने हुनुपर्ने उल्लेख गर्दै सञ्चार मन्त्रालय त्यसतर्फ क्रियाशील रहेको बताए। खरेलले सामाजिक सञ्जाल कहिल्यै बन्द हुन नहुने पनि बताए।
'सामाजिक सञ्जाल कहिल्यै पनि बन्द हुनुहुँदैन र बन्द गरिदैन भन्नेकुरा स्पष्ट पार्न चाहन्छु। नयाँ मुलधारको मिडियाको रुपमा रहेका सामाजिक सञ्जालहरु कहिले पनि बन्द हुनु हुँदैन। बन्द गरिने छैन। कुनैपनि सञ्चार माध्यमसमेत बन्द नगरिने व्यहोरा स्पष्ट पार्न चाहन्छु,' उनले भने, 'दोस्रो कुरा- सामाजिक सञ्जाललाई व्यवस्थित गर्नुपर्छ, जिम्मेवार बनाउनुपर्छ। सञ्चारमन्त्रीको रुपमा मेरो प्राथमिकता पनि यही नै हो। तर बन्द गर्ने कुरा कसैलाई पनि स्वीकार्य हुँदैन। सरकार सुनिनुपर्छ, सरकार देखिनुपर्छ र महशुस पनि हुनुपर्छ। त्यसकारण सञ्चार मन्त्रालय सुनिन्छ पनि देखिन्छ पनि र महसुश हुन्छ पनि।'
त्यस्तै अनलाइन मिडिया दर्तालगायतका विषयमा भइरहेको सरकारी झन्झटलाई मुक्त गर्ने गरी मन्त्रिपरिषद्बाटै निर्णय गराउनेतर्फ आफू लागिरहेको उनको भनाइ छ।
लोक सञ्चारकर्मी नेपालको तर्फबाट अध्यक्ष चन्द्रमणि गौतम र अनलाइन टिभी पत्रकारको तर्फबाट अध्यक्ष जीवन भण्डारीले मन्त्री खरेलको ध्यानाकर्षण गराएका थिए।
छलफलपछि लोक सञ्चारकर्मी नेपाल र अनलाइन टिभी पत्रकार संघले मन्त्री खरेललाई ध्यानाकर्षण पत्र पनि बुझाएका छन्। मन्त्री खरेलले उक्त पत्र अध्ययन गरेर सञ्चारकर्मीको हितका लागि समन्वयमै काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
Shares

प्रतिक्रिया