सहरी विकासमन्त्री कुलमान घिसिङले निर्माणाधीन संसद् भवनको निरीक्षण गरेका छन्। शनिबार (कात्तिक ८) उनले सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको निरीक्षण गरेका हुन्।
आउँदो फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुने तय छ। फागुन २१ को निर्वाचनबाट चुनिने सांसदले नयाँ संसद् भवनबाट कार्य सञ्चालन गर्न सक्ने गरी व्यवस्था मिलाउन निर्माण कार्य तीव्र बनाउन निर्देशन दिइएको छ।
अवलोकनपश्चात् सञ्चारकर्मीसँग मन्त्री घिसिङले पुरानो संसद् भवन ‘जेनजी’ आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएकाले राष्ट्रियसभा र प्रतिनिधिसभा पनि फागुन २१ पछि सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताए। नयाँ संसद् भवन छिटो बनाउन नसकिए धेरै असर पर्ने स्थिति रहेको उनले उल्लेख गरे।
आउँदो पुस १६ गतेसम्म सबै काम सकाउने निर्माण कम्पनीले भनेको छ। तर, त्यति बेलासम्म सबै काम पूरा हुन गाह्रो स्थिति रहेको उनले बताए।
हरेक दिनको ‘सेड्युल’ बनाएर काम गर्न उनले निर्देशन दिए। दुई चरणमा काम गरी समयमै निर्माण सम्पन्न गर्न उनले निर्देशन दिए। दुई दिनभित्र सेड्युल पेस गर्न र त्यहीअनुसार काम गर्न उनले निर्देशन दिए।
निर्माण कम्पनीले चाहेको खण्डमा समयमै काम सकिने उनले बताए। आवश्यक साधनस्रोत र जनशक्ति खटाएर तीव्रताका साथ काम गर्न उनले निर्देशन दिए। समयमै काम सम्पन्न नभए कारबाहीस्वरूप जरिवाना तिराउने उनले चेतावनी पनि दिए।
अन्तरिम सरकारले फागुन २१ गतेलाई प्रतिनिधिसभा सदस्यको निर्वाचन हुने मिति तोकेको छ। तर, राजनीतिक दलहरूले सरकार निर्वाचन गराउनेभन्दा भाँड्ने काममा लागेको भन्दै आपत्ति जनाइरहेका छन्। नेकपा (एमाले) संसद पुनर्स्थापना हुनुपर्ने भन्दै अदालत जाने तयारीमा छ।
Shares

प्रतिक्रिया