नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले २१ फागुनमा निर्धारित निर्वाचन सफल पार्नुको विकल्प नरहेको बताएका छन्।
तिहार, नेपाल सम्वत र छठलगायत वर्षका अवसरमा मंगलबार भक्तपुरमा आयोजित चियापान कार्यक्रममा पुनले निर्वाचन सफल पार्ने आफ्नो पार्टीले सरकारलाई सहयोग गर्ने बताए। उनले कांग्रेस र एमालेसहितका दललाई पनि चुनावका लागि तयार हुन आग्रह गरे।
‘संविधानलाई सही बाटोमा ल्याउन घोषित मितिमा चुनाव सम्पन्न गर्नुको विकल्प छैन,’ पुनले भने, ‘हामी चुनावका लागि प्रतिबद्ध छौँ र अरु दललाई पनि चुनावको पक्षमा उभिन आग्रह गर्छौं।’
केही दिनअघि आफू र नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा माओवादी निर्वाचनको पक्षमा रहेको स्पष्ट गरेको जानकारी पुनले दिए।
‘प्रधानमन्त्रीले हामीलाई बोलाउनुभएको थियो। नारायणकाजी कमरेड र म गएका थियौं। हामीले भन्यौंं- चुनावको पक्षमा छौं। हामी चुनावको वातावरण बनाउछौं तर अरुका लागि पनि चुनावी वातावरण बनाउन लाग्नुस् भनेका थियौं,’ पुनले भने ‘आज पनि सात पार्टीहरुलाई राष्ट्रिय पार्टीहरुलाई प्रधानमन्त्रीले बोलाउनुभएको छ। हामी जान्छौं। हामी यही कुरा भन्छौँ।’
पुनले भदौ २३ गतेको जेनजी आन्दोलन सही भएको र २४ गतेको विध्वंश जेनजीले नभई घुसपैठिया समूहले गराएको बताए। उनले २३ र २४ गतेका दुवै अपराध कर्ममा संलग्नमाथि कारबाही गर्न सरकारसँग माग गरे ।
विघटित प्रतिनिधिसभाका दुई ठूला दल कांग्रेस र एमाले मिलेर बनेको केपी ओली नेतृत्वको दुई तिहाइको सरकार भ्रष्टाचार र बिचौलियाको स्वार्थमा केन्द्रित भएका कारण जनतामा व्याप्त निराशा र आक्रोश जेनजी आन्दोनलमार्फत विष्फोट भएको पुनको भनाइ थियो। ओलीको स्वेच्छाचारिता, निरंकुशता र भ्रष्ट चरित्रविरुद्ध नयाँ पुस्ताको गुवाइमा जनता सडकमा आएको पुनले बताए।
प्रमुख प्रतिपक्षी हैसियतमा आफूहरुले पटकपटक कार्यशैली सुधार्न र जनताको भावना बुझ्न आग्रह गरे पनि सरकारले नसुन्दा विस्फोटको अवस्था आएको उनले उल्लेख गरे। आफ्ना अध्यक्ष प्रचण्डले जनताको सोही आक्रोश समयमै बुझेर लाखौं जनता सिंहदरबार र बालुवाटार घेर्नै आउँछन् भनेको स्मरण पुनले गरे।
तर, सोही भनाइलाई आधार बनाएर अहिले केही शक्तिले सिंहदरबार जलाउन माओवादी संलग्न रहेको भन्दै आरोपित गर्न खोजेको बताए। प्रचण्डले सिंहदरबार जलाउन नभई सरकारलाई जनतामा बढ्दै गएको असन्तुष्टिलाई सांकेतिक रुपमा व्यक्त गरेको व्याख्या पुनले गरे।
माओवादी र अरु पार्टी एकै हुन् भन्ने न्यारेटिभ स्थापित गर्ने प्रयास भइराखेको भन्दै उनले सुशासनको मामिलामा अरु र माओवादी फरक भएको दाबी गरे। संयोजक प्रचण्ड नेतृत्वको सरकारले १८ महिनामा सुशासनका पक्षमा गरेको काम त्यसको उदाहरण भएको तर्क पुनको छ।
पुनले विगतमा चर्चामा रहेका सबै भ्रष्टाचार र अनियमितता प्रकरण छानबिन हुनुपर्ने भन्दै त्यसमा सघाउन आफ्नो दल तयार रहेको प्रतिबद्धता जनाए। आफूहरुले सरकारमा बसेर पार्टी नेता कार्यकर्ता, समर्थक र मतदाताको शिर निहुराउने काम नगरेको पुनले बताए।
Shares

प्रतिक्रिया