राजनीति


न पछुतो, न सुधारको गुन्जायस : बरु सत्तामा फर्किने सपना देख्दैछन् ओली

भन्छन्– चीनमा मभन्दा डेढ वर्ष कम, रुसमा मभन्दा सात महिना कान्छो व्यक्ति राष्ट्रपति छन्
न पछुतो, न सुधारको गुन्जायस : बरु सत्तामा फर्किने सपना देख्दैछन् ओली

सीताराम बराल
कात्तिक २, २०८२ आइतबार २०:५६, काठमाडौँ

आफै प्रधानमन्त्री भएका बेला २४ भदौको विध्वंशमा बालकोटस्थित निजी निवास जलेयता एमाले अध्यक्ष केपी शर्मा ओली भक्तपुरकै गुण्डुमा बस्दै आएका छन्। उनले एकाध पटक गुण्डु वरपरका पार्टी कार्यक्रममा सहभागी भएर सम्बोधन गरेका छन्। शनिबार च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित चियापान कार्यक्रममा पनि उनले सम्बोधन गरे। 

त्यसबाहेक २३ भदौको जेन–जी आन्दोलन, २४ भदौको विध्वंश, सत्ताबाट उनको बहिर्गमन, अन्तरिम सरकारको गठन लगायतका विषयमा उनले सार्वजनिक र विस्तृत रूपमा बोलेका छैनन्। उपरोक्त विषयहरूमा उनका छिटपुट धारणा मात्र सार्वजनिक भएका छन्। 

आइतबार भने कोटेश्वरचोकस्थित होटल ए वान भेन्युमा सम्पादकहरूसँगको संवाद कार्यक्रममा ओली उपरोक्त र अन्य केही विषयमा खुलस्त रूपमा प्रस्तुत भए, केही विषयमा भने सांकेतिक रूपमा आफ्ना धारणा राखे। 

जस्तो : २३–२४ भदौको घटना र आफ्नो अकल्पनीय सत्तापलटलाई ‘आन्तरिक’ र ‘भूराजनीतिक’ कारणहरूको परिणाम मात्र भने। 

२७ भदौमा सुशीला कार्की प्रधानमन्त्री नियुक्त हुनुअघिसम्म नेपाली सेनाले आफ्नो मोबाइल लिएकाले आफूले कसैसँग सम्पर्क गर्न नसक्ने स्थिति सिर्जना भएको बताउँदै यो स्थितिलाई परिभाषित गर्ने जिम्मा पनि सम्पादकहरूलाई नै दिए। 

‘सम्पादकहरूसँग स‌ंवाद’ नाम दिइएको आइतबारको कार्यक्रममा ओलीले विविध विषयमा जे धारणा राखे, त्यसमार्फत् उनले दिन खोजेको सन्देश के हो भने, खासमा सुधारको आवश्यकता अरुमा नै छ। सम्पादकहरूले पनि आत्ममूल्याङ्कन गर्नु जरुरी छ, सुरक्षा निकायहरूले पनि आत्ममूल्याङ्कन गर्न आवश्यक छ, २४ भदौपछि चालेका कदमहरूप्रति राष्ट्रपतिको तर्फबाट पनि आत्ममूल्याङ्कन हुनुपर्छ, सरकारमा रहेकाहरूले त अझ बढी आत्ममूल्याङ्कन गर्नुपर्छ, आफै प्रधानमन्त्री छँदा २३ भदौमा बानेश्वरमा चलेको गोलीबाट ज्यान गुमाएका सहिदका परिवारहरूले समेत आफू (ओली) माथि कारबाहीको माग गर्न छाडेर किन त्यो घटना भयो भन्नेबारेमा आत्ममूल्याङ्कन गर्नुपर्छ। 

एक घण्टा भन्दा लामो सम्बोधनका क्रममा उनले ‘आत्ममूल्याङ्कन’ र ‘सुधार’ को आवश्यकता देख्दै नदेखेका एक मात्र पात्र थिए– केपी शर्मा ओली।  
***

‘संवाद’ कार्यक्रममा अध्यक्ष ओलीलाई सोधिएको थियो, ‘एमालेले पनि २३ भदौको प्रदर्शनमा मारिएकाहरूप्रति श्रद्धाञ्जली र परिवारप्रति समवेदना प्रकट गरेको छ। सहिदका परिवारले पनि प्रत्येक हप्ताजसो आफ्नो सन्तानको हत्या गर्नेहरू र आदेश दिनेहरूलाई पक्राउ गर्नुपर्‍यो र उचित दण्ड दिनुपर्‍यो’ भन्ने माग गरिरहेका छन्। यसबारे तपाईं के भन्नुहुन्छ?’ 

‘उहाँ (२३ भदौमा ज्यान गुमाएकाहरूको परिवार) हरूलाई केपी ओलीलाई भेटे छ्याप्छ्याप्ती काट्छु भन्ने पारिएको छ। तर, उनीहरूले यस्तो कुरा भन्नै सक्दैनन्,’ ओलीले दाबी गरे, ‘उनीहरूलाई यस्तो भन्न सिकाइएको हो, केही मानिसहरूले उनीहरूलाई भड्काएका छन्, यस्तो कुरा गर्न सिकाएका छन्।’ 

‘उहाँहरू दुखित हुनुहुन्छ, म पनि दुखित छु’ त भने ओलीले। तर, जेन–जी पुस्ताको २३ भदौको आन्दोलनका जिम्मेवारहरूलाई कारबाही गर्न गरिएको माग जायज हो र विवेकसम्मत हो भन्ने मान्न उनी तयार भएनन्।   

त्यो गोलीकाण्डका जिम्मेवारहरूमाथि कारबाही हुनुपर्छ भन्ने त परको कुरा भयो।  
***

गुण्डुमा बसोबास थालेपछि पटक–पटक आफूमाथि आक्रमणको योजना बनेको तर यस्तो बेला सरकारले आफ्ना सुरक्षाकर्मीहरू हटाएको प्रति उनले तीव्र रोष प्रकट गरे।

‘ममाथि सेक्युरिटी थ्रेट छ, तर सरकार मेरै सेक्युरिटी खोस्छ, आफूले चाहेका मेयर र वडाध्यक्षको चाहिँ सेक्युरिटी बढाउँछ,’ यो दाबीका साथ ओलीले पत्रकारहरूलाई सोधे, ‘यो कुरा चाहिँ प्रिय सम्पादकहरूलाई कस्तो लाग्छ कुन्नि!’ 

आफ्ना सुरक्षाकर्मी हटाएर सरकारले कुन चाहिँ वडाध्यक्षलाई सुरक्षाकर्मी उपलब्ध गराएको छ भन्ने जिज्ञासा एक सम्पादकले ओलीसँग राखे।

एक घण्टाभन्दा लामो सम्बोधनका क्रममा ओलीले पटक–पटक सम्पादकहरूलाई सत्यको पक्षमा लेख्न र बोल्न आग्रह गरेका थिए। तर, आफैले गरेको दाबीमाथि राखिएको उपरोक्त जिज्ञासाको जवाफ भने आफैले दिन सकेनन्, ‘मैले त्यो कुरा (वडाध्यक्षलाई सुरक्षाकर्मी दिएको भन्ने) ‘सिम्बोलिक रूपमा भनेको हुँ’ भन्दै उम्किन खोजे। 

ओली प्रश्नको घेराबाट उम्किन सक्ने स्थितिमा थिएनन्। वडाध्यक्षलाई सुरक्षा दिइएको विषय ‘सिम्बोलिक’ नभई दाबी नै थियो। 

‘जसले दिएको (वडाध्यक्षलाई सुरक्षा) हो, उसैलाई सोधौँ न!’ ओली फेरि उम्कन खोजे, ‘मैले तपाईंहरूलाई जानकारी गराएँ, खोज्ने काम तपाईंहरूले गर्नुहोला।’   
***

अध्यक्षबाट राजीनामा र एमालेमा नेतृत्व हस्तान्तरणबारे सम्पादकहरूले ओलीलाई प्रश्न नसोध्ने त कुरै भएन। 

‘तपाईंहरू सम्पादक भइरहेको अर्काे उत्तराधिकारी नभएर हो?’ ओलीले प्रश्न गरे, ‘सम्पादक बन्न लायक त अरु पनि होलान् नि!’

यो प्रसङ्ग निकालेर उनले एमालेभित्र आफ्नो अपरिहार्यताको दाबी गर्ने कोसिस गरिरहेका थिए। 

‘अहिले उपयुक्त क्याप्टेन केपी शर्मा ओली नै हो भन्ने एमालेभित्रको माग छ,’ ओलीले थपे, ‘एमालेको नेतृत्व तपाईं सम्पादकहरूले छान्ने हो भने त पोहोर–परारै अर्कै नेतालाई अध्यक्ष बनाइसक्नुहुन्थ्यो।’

देउवा उपचारका लागि विदेश जानुपर्ने भएकाले नेतृत्व छाडेको उल्लेख गर्दै आफू स्वस्थ नै रहेको र अझै पाँच फिट अग्ला पोथ्रा नाघ्न सक्ने दाबी गरे। 

अमेरिका, चीन, रुस, भारत लगायतका मुलुकमा आफूभन्दा बढी उमेरका नेताहरू सरकारको नेतृत्वमा रहेको सुनाएर ओलीले आफू पनि नेतृत्वका लागि ‘ठीकठाक’ रहेको बताएनन् मात्र, आफू विश्वका ती नेताहरूको हाराहारीकै व्यक्तित्व रहेको सन्देश पनि दिन खोजे।

‘अमेरिकामा ८० हाराहारीको (राष्ट्रपति डोनल्ड ट्रम्प), बंगलादेशमा ८६ हाराहारी (अन्तरिम सरकार प्रमुख मुहम्मद युनुस), भारतमा ७६ (प्रधानमन्त्री नरेन्द्र मोदी) छन्,’ ओलीले थपे, ‘चीनमा (राष्ट्रपति सी चिनफिङ) म भन्दा डेढ वर्ष कम उमेरका छन्, रुसजस्तो देशमा पनि मभन्दा सात महिना कान्छो व्यक्ति राष्ट्रपति छन्। चीनमा तेस्रो कार्यकालका लागि राष्ट्रपति छन् र राष्ट्रपति छँदै उनी (चिनफिङ) पनि मेरो अहिलेकै उमेरमा पुगेको तपाईंहरूले देख्न पाउनुहुन्छ।’   

ओलीको दाबी थियो, ‘मसँग काम गरेको अनुभव छ, काम गर्न सक्ने योग्यता र क्षमता पनि देख्छु। तर, म अध्यक्ष भएकोमा सम्पादकहरूको पो टाउको दुखेको देख्दैछु।’
***

अन्तरिम सरकार प्रमुख चयनका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले गरेको पहललाई ‘जस’ दिनु पनि ओलीले जरुरी सम्झेनन्। बरु आफूले भने बमोजिम प्रधानमन्त्री नियुक्त नभएकोमा तीखो आलोचना गरे। 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले ओलीकै सिफारिस बमोजिम सर्वाेच्च अदालतकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गरेको र त्यो कागज आफूले हेरेको दाबी गर्दै आएका छन्। 

ओलीका अनुसार राष्ट्रपति सेरमोनियल (आलंकारिक) पद भएकाले पौडेलले आफूले कुनै कदम चाल्दा सरकारको सिफारिस आवश्यक पर्ने भन्दै नयाँ प्रधानमन्त्री चयनका लागि प्रधानमन्त्री (काम चलाउ) ओलीको लिखित धारणा माग गरेका थिए। ओली आफै राष्ट्रपति र निर्णायक ठाउँमा थिए भने यसरी सुझाव माग्ने जरुरत देख्थे कि देख्दैनथे, त्यो छुट्टै विषय हो। 

ओलीका अनुसार राष्ट्रपति संविधानको पालक र रक्षक भएको स्मरण गराउँदै सिफारिस पत्रमा लोकतान्त्रिक र संवैधानिक परिधिभित्र रही आवश्यक कदम चाल्न सिफारिस गरेका थिए।   

‘मैले गरेको सिफारिसमा सुशीला कार्कीको नाम कहाँ छ?’ ओलीले सोधे, ‘प्रचण्डजीसँग छ भने देखाइदिनुपर्‍यो, आखिर उहाँ मेरो शुभचिन्तक नै हुनुहुन्छ क्यारे! प्रचण्डजीले मेरो कति चिन्ता गर्नुहुन्छ भन्ने कुरा तपाईंहरूले पनि देख्नुभएकै छ।’ 

जेन–जी आन्दोलनको आँधीहुरीका माझ २४ भदौ अपरान्ह ओली राजीनामा दिएर सेनाको सुरक्षामा मकवानपुरको ब्यारेकतर्फ जान बाध्य भएका थिए। दुई दिनमै सत्ता ढाल्न सफल आन्दोलनकारीका मागको समेत सुनुवाइ गर्नुपर्ने बाध्यता उनलाई थियो। र, त्यो स्थिति ओलीले नसकेर सत्ता छाडेकैले सिर्जना भएको थियो।  

ओलीले सोचेजस्तो, उनले जे भन्यो, त्यही गर्दा निकास निस्कने स्थिति थियो भने ओली आफै सेनाको हेलिकोप्टर चढेर जीवन सुरक्षाका लागि मकवानपुरतर्फ भाग्नुपर्ने स्थिति नै आउने थिएन। 

वास्तविकता यो भए पनि ओली ‘मेरै सिफारिस निर्णायक हुनुपर्थ्यो’ भन्दै जेन–जी आन्दोलनकारीहरूको सिफारिसमा अन्तरिम प्रधानमन्त्रीमा सुशीला कार्कीको चयन गरेकोमा राष्ट्रपति पौडेलको आलोचना गरिरहेका छन्।
***

सम्पादकहरूसँग झण्डै दुई घण्टा बिताउँदा ओलीले जम्मा एकपटक ‘२३ गतेको गोलीकाण्डप्रति मलाई पनि दुःख लागेको छ’ भने। त्यसबाहेक कुनै पश्चाताप देखिएन। बरु, त्यो घटना सरकारको कमजोरीका कारण नभई घुसपैठका कारण हुन पुगेको दाबी गरिरहे। 

‘मैले पनि धेरै जेन जी नेताहरूलाई भेटेको छु’ भन्ने दाबी गरे ओलीले। तर, २३ भदौको आन्दोलनका आयोजक को–को जेन–जी नेताहरूलाई भेटेर कुराकानी गरेका थिए, तिनको नाम उल्लेख गरेनन्। 

बरु भने, ‘उनीहरूले मलाई भनेका छन्– हामीले अनिर्वाचित हजुरआमालाई प्रधानमन्त्री बनाउन भनेका थिएनौँ। यो कुरा (अनिर्वाचित हजुरआमा) कसलाई भनेका हुन्, त्यो कुरा पनि मैले उनीहरूलाई सोधिनँ।’

‘२३ भदौमा कलिला बालबालिकाहरूलाई मराउनु थियो, फलाना–फलानाको घरमा आगो लगाउने भन्ने थियो, त्यसैका लागि घुसपैठ गरियो,’ ओलीले दाबी गरे, ‘घुसपैठ भएपछि जेन जी हरूले माइकिङ गरेर प्रदर्शनमा आएकाहरूलाई फर्कन भनेका थिए। तर, घुसपैठ गरेका केही तत्वहरूले ती कलिला बालबालिकाहरूलाई छेकेर–घेरेर संसद् भवनतिर लगे।’

ओलीका भनाइमा यहीँतिर गृहप्रशासन र प्रहरीको कमजोरी देखियो। 

‘संसद् भवनतिर जान नदिन जस्तो तयारी हुनुपर्थ्यो, त्यो चाहिँ त्यसदिन भएको देखिएन,’ ओलीले थपे।

उनका भनाइमा अघिल्लो दिन (२२ भदौ) राति भएको बैठकमा सुरक्षा प्रमुखहरूले विद्यार्थीहरूको प्रदर्शन भएकाले त्यस्तो कुनै अन्यथा गतिविधि गर्दैनन् भन्ने ब्रिफिङ गरेका थिए।  

तर, घटना भइसकेपछि आफूले गृहमन्त्री रमेश लेखकलाई यसबारे जिज्ञासा राखेको र लेखकले रबरको गोली चलेको जवाफ दिएको दाबी गरे। 

केही छिनपछि ३–४ जना मारिएको भन्ने जानकारी पाएपछि यस्तो स्थिति किन आयो भन्ने प्रश्न आफूले गरेको ओलीले बताए। 

तत्कालीन गृहमन्त्री लेखकले यस सम्बन्धमा के जवाफ दिए, त्यो पनि ओलीले उल्लेख गरेनन्। उनले सन्दर्भ मोडे र २४ भदौको घटनाका लागि २३ भदौको त्यो घटना गराइएको दाबी गरे। 
***

पत्रकारहरूले राखेका प्रश्न र जिज्ञासाहरू सुनेपछि बोल्न सुरु गरेका ओलीले सुरुमै आफ्नो जीवनका ‘मूल्य–मान्यता’ र ‘आदर्श’बारे संक्षिप्तमा चर्चा गरेका थिए। शान्ति, सुव्यवस्था, समृद्धि, समानता, अधिकार, सम्पत्तिको सुरक्षा, सम्मानजनक जीवन लगायतका विषय आफ्नो मूल्य–मान्यता एवं आदर्शका रूपमा रहेको र यसैकालागि आफू जीवनभर संघर्षरत रहेको दाबी गरे। 

यो व्याख्याबाट उनले ‘म सदैव सही थिएँ र अहिले पनि सही नै छु’ भन्ने सावित गर्न खोजेको भान हुन्थ्यो।

आफ्नो जीवनका मूल्य–मान्यताबारेको प्रवचनपछि ओलीले भने, ‘बरु सम्पादक महोदयहरूले (आफ्नो गल्तीप्रति) आत्मालोचना गर्नुभएको होला।’ यति भन्दै उनले आफूलाई (सम्पादकहरूले) दम्भी र अहंकारी भनेकोमा आश्चर्य प्रकट गरे।   

आफ्नो आलोचना गर्ने सम्पादकहरू कुनै दिन आफैलाई प्रधानमन्त्री बनाउनुपर्छ भन्ने निष्कर्षमा पुग्ने दाबी पनि उनको थियो।  

सत्ताच्युत भएपछि २ भदौमा गुण्डुमा सार्वजनिक भएयता ओलीको ठाँटबाँट, सक्रियता र आत्मविश्वासका बाबजुद उनी सत्तामा फर्कन चाहिँ सक्लान्?’ भन्ने एक सम्पादककोे जिज्ञासाको जवाफ दिनेक्रममा ओलीले यस्तो दाबी गरेका थिए। 

सरकारले आफ्नो जलेको घर हेर्न, ९४ वर्षीय बुबालाई भेट्न नदिने परिस्थिति सिर्जना गरेको आरोप लगाउँदै सरकारका यस्ता कदमले गर्दा आफू सत्तामा फर्कने सम्भावना बढ्दै जाने उनको दाबी थियो।   

‘सरकारका यस्ता कदमले गर्दा जनतामा फेरि केपी ओलीलाई ल्याउने मेलो बढ्छ,’ ओलीले भने, ‘त्यसपछि तपाईं सम्पादकहरूले पनि ‘ओलीलाई नै प्रधानमन्त्री बनाउनुपर्‍यो’ भनेरै विशेष सम्पादकीय लेख्न थाल्नुहुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad