नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग गरी हस्ताक्षर गरेका प्रतिनिधिहरूले आज (आइतबार) बिहान पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गरेका छन्।
नयाँ बानेश्वरस्थित थापा गाउँ ब्याङ्केटमा आयोजित पत्रकार सम्मेलनमा उनीहरूले पार्टीको जारी केन्द्रीय कार्यसमिति मंसिरमा नियमित महाधिवेशन नगर्ने र आफ्नो म्याद लम्ब्याउने रणनीतिमा लागेको आरोप लगाएका छन्।
कांग्रेसका महामन्त्री गगन थापानिकट महाधिवेशन प्रतिनिधि मनोजमणि आचार्यले हस्ताक्षरकर्ताहरूको तर्फबाट भने, ‘हामी नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले पार्टीको विधानको धारा १७ (२) बमोजिम विशेष महाधिवेशनको माग गर्दै केन्द्रीय कार्यालयमा निवेदन दर्ता गरिसकेका छौँ। र, जारी केन्द्रीय समितिको बैठकलाई पनि हामीले सूक्ष्म रूपमा नियालिरहेका छौँ। यस सन्दर्भमा नेपाली कांग्रेसको उज्ज्वल र सुरक्षित भविष्य चाहने महाधिवेशन प्रतिनिधि साथीहरू जसले पार्टीको बृहत्तर हितका लागि आफ्नो हस्ताक्षरमार्फत पार्टीको समग्र रूपान्तरणको संकल्प लिनुभएको छ। उहाँहरूलाई हार्दिक आभारसहित धन्यवाद दिन चाहन्छु।
राष्ट्रिय राजनीति तीव्रतका साथ अघि बढिरहेका बेला पार्टी महाधिवेशन आयोजनामा विलम्ब गर्ने, अलमल गर्ने र पार्टीको नेतृत्व र समितिको बैठक अस्वाभाविक रूपमा लम्ब्याउने, टुंगिनेसमेत अनिश्चित देखिएकाले कार्यसमितिको मनसाय मंसिरभित्र नियमित महाधिवेशन नगर्ने र आफ्नो म्याद थप्नेतर्फ उद्धृत देखिन्छ। वर्तमान केन्द्रीय समितिको यस्तो चाल र प्रवृत्ति आपत्तिजनक छ।’
पत्रकार सम्मेलन जारी छ।
Shares

प्रतिक्रिया